२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपल्लो मुस्ताङलाई निषेधित क्षेत्रबाट हटाउन माग



अ+ अ-

मुस्ताङ। मुस्ताङका स्थानीय जनप्रतिनिधिले उपल्लो मुस्ताङको उपल्लो क्षेत्रमा कायम रहेको निषेध फुकुवा गर्न माग गर्नुभएको छ।

जिल्ला समन्वय समिति, मुस्ताङकी प्रमुख माया गुरुङको नेतृत्वमा आएको जनप्रतिनिधिहरुको टोलीले आज बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरी विदेशी पर्यटकसँग लिइँदै आएको शुल्क पनि हटाउनुपर्ने माग राखेको हो।

उपल्लो मुस्ताङ भ्रमणमा जाँदा विदेशी पर्यटकले ५०० अमेरिकी डलर तिरेर न्यूनतम १० दिनको प्याकेज लिनैपर्ने व्यवस्था हटाएर सरकारले हालै प्रतिदिन ५० डलर कायम गरेकोमा पनि टोलीले त्यो संशोधन अपुग भएको भनेको छ।

मन्त्रिपरिषद्को गत मंगलबार बसेको बैठकले अध्यागमन नियमावली संशोधन गरी विदेशी पर्यटकले निषेधित क्षेत्र भ्रमण गर्दा दैनिक ५० डलर तिर्नुपर्ने व्यवस्था गरेको छ। स्थानीय जनप्रतिनिधिले यस्तो शुल्क लिने व्यवस्था नै खारेज हुनुपर्ने माग राख्नुभएको छ।

‘उपल्लो मुस्ताङका ३ वटा गाउँपालिकाको क्षेत्र निषेधित क्षेत्रमा घोषणा गरिएको र विदेशी पर्यटकहरुलाई महँगो शुल्क लिने नीतिले पर्यटकहरुलाई निरुत्साहित गरिरहेको अवस्था छ,’ टोलीले बुझाएको ज्ञापनपत्रमा लेखिएको छ, ‘भर्खरै मात्र मन्त्रिपरिषद्को निर्णयले एकमुष्ट प्रतिविदेशी पर्यटक प्रवेश शुल्क ५०० डलर लिने कानुनमा संशोधन गरी प्रतिदिन बसाइँको ५० डलर हुने गरी संशोधन गरिदिनुभएकोमा सरकारको चासो प्रति आभार तथा धन्यवाद ज्ञापन गर्दछौं।

यसले विदेशी पर्यटकहरुको भ्रमणमा केही सकारात्मक सन्देश दिने भए तापनि नेपाल र चीनबीचको महत्त्वपूर्ण कोरला नाका भन्सार नाकामा समेत विकसित भइसकेको अवस्थामा स्वदेशी तथा विदेशी नागरिकहरुको सहज आवागमन जरुरी देखिएको हुँदा निषेधित क्षेत्र नै हटाउनु उत्तम उपाय रहेको निष्कर्षसहित ध्यानाकर्षण गराउँछौं।’

प्रतिनिधिमण्डल यसप्रकार थियो

माया गुरुङ, प्रमुख, जिल्ला समन्वय समिति, मुस्ताङ
प्रदीप थकाली, अध्यक्ष, थासाङ गाउँपालिका, मुस्ताङ
लोप्साङ छोम्फेल विष्ट, अध्यक्ष, लो घेकर दामोदरकुण्ड गाउँपालिका, मुस्ताङ,
मोहनसिंह लालचन, अध्यक्ष, घरपझोङ गाउँपालिका, मुस्ताङ
रिङजिन नाम्गेल गुरूङ, अध्यक्ष, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङ
टसी नर्बु गुरूङ, अध्यक्ष, लोमान्थाङ गाउँपालिका, मुस्ताङ
छ्युमी विष्ट गुरुङ, उपाध्यक्ष, लोमन्थाङ गाउँपालिका, मुस्ताङ