१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न

डब्लुएचओद्वारा निर्मित ‘प्रिफ्याब’ भवन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण

डब्लुएचओद्वारा निर्मित ‘प्रिफ्याब’ भवन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण
अ अ+ अ-

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्रवाह हुने सेवा अब सिंहदरबार परिसरबाट लिन सकिने छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को सहयोगमा सिंहदरबार परिसरस्थित नेपाली सेनाको नर्सिङ दल गण रहेको स्थानमा निर्माण गरिएको ‘प्रिफ्याब’ भवनबाट स्वास्थ्य मन्त्रालयको सेवा प्राप्त गर्न सकिने छ ।

विश्व स्वास्थ्य सङ्गठनले करिब रु १० करोड खर्च गरेर बनाएका छ वटा ‘प्रिफ्याब’ भवनमा अस्थायी रूपमा तत्कालका लागि मन्त्रालय सारिएको छ । स्वास्थ्य मन्त्रालय सरेसँगै नेपाल सरकारका सबै केन्द्रिय मन्त्रालय सिंहदरबार परिसरभित्र रहने छन् ।

आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमलाई विश्व स्वास्थ्य सङ्गठनका दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा कथेरिन बोहेमले ती भवनका संरचना हस्तान्तरण गर्नुभयो ।

यसअघि त्यहाँ रहेको सेनाको गण उत्तरतर्फ आफ्नै भवनमा सरेपछि खाली जग्गामा प्रिफ्याब बनाइएको हो । विसं २०३० मा सिंहदरबार आगलागी भएपछि टेकु हुँदै रामशाहपथ सरेको मन्त्रालय जेनजी आन्दोलनका क्रममा आगजनीबाट पूर्ण रूपमा क्षति भएपछि पुनः सिहदरबारभित्र सरेको छ ।

यसअघि गत भदौ २४ गते भवन पूर्ण रूपमा क्षति भएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को नयाँ भवनबाट स्वास्थ्य मन्त्रालयले काम गरिरहेको छ ।

भवन हस्तान्तण कार्यक्रममा मन्त्री गौतमले जनस्वास्थ्य क्षेत्रका अतिरिक्त बाढी, पहिरो, भूकम्पलगायत प्राकृतिक विपद्का घटनापछि मानवीय उपचार र उद्धारमा विश्व स्वास्थ्य सङ्गठनबाट निरन्तर सहयोग प्राप्त भइरहेको बताउनुभयो ।

उहाँले आन्दोलनमा आगजनीमा परी क्षति भएपछि मन्त्रालयको दैनिक कार्य सञ्चालन गर्न कठिनाई भइरहेका बेला छोटो समयमै भवन निर्माण गरी नयाँ कार्यालयमा बस्ने वातावरण तुल्याइदिएकामा विश्व श्वास्थ्य सङ्गठनप्रति आभार व्यक्त गर्नुभयो ।

मन्त्रालयका सचिव डा विकास देवकोटाले नेपालको स्वास्थ्य क्षेत्रको विकास, विस्तार र गुणस्तरीय सेवा प्रदान गर्ने सिलसिलामा निरन्तर सहयोग पु¥याएकामा सरकारकातर्फबाट डब्लुएचओलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

डब्लुएचओका क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा बोहेमले हालैका वर्षमा नेपालले भूकम्प, बाढी, पहिरो, राजनीतिक अशान्ति र अन्य अवरोधका श्रृङ्खलाको सामना गरिरहेको स्मरण गर्दै नवनिर्मित भवन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस्ता भवन भौतिक संरचना मात्र होइनन्, सहयोग, मित्रता र साझेदारीको प्रतीक हो । यस्ता भवनले समस्या परेको समयमा पनि महत्त्वपूर्ण कार्यमा सहज तुल्याउँछन् ।”

विगतका घटनाले स्वास्थ्य प्रणाली कुनै पनि समयमा अवरोध हुन सक्ने विषयसँगै तयारीका लागि सजग गराएको बताउँदै कथेरिनले भन्नुभयो, “तयारी आकाङ्क्षा होइन, आवश्यकता हो । साधारण र सजिलो पूर्वाधार आपत्कालीन प्रतिक्रियाको मेरुदण्ड हो । नवनिर्मित भवनले सङ्कटका बेलामा तयारीको आवश्यकतालाई चित्रण गर्छ ।”

विसं २०१५ को भूकम्पपछि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र मन्त्रालयले हजारौँ नागरिकको तत्कालिन स्वास्थ्य सेवा सुनिश्चित गर्दै स्वास्थ्य शिविर र औषधि उपलब्ध गराउन समन्वयमा काम गरेको स्मरण गर्दै डा बोहेमले सहकार्यका साथ स्वास्थ्य आपत्कालीन तयारी र स्वास्थ्य संस्थाको क्षमतालाई बलियो बनाउन सङ्गठनले सहयोग गर्ने विश्वास दिलाउनुभयो ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले सिंहदरबारभित्र नयाँ संसद् भवन बनेपछि हाल संसद् सचिवालयको भवन स्वास्थ्य मन्त्रालयको स्थायी संरचनाको रूपमा प्राप्त गर्ने सन्दर्भमा छलफल भइरहेको बताउनुभयो ।

उहाँले नेपाल सरकारका सबै मन्त्रालय सिंहदरबारभित्र रहेका र स्वास्थ्य मन्त्रालय मात्रै बाहिर रहँदा सहकार्य र समन्वयमा केही अप्ठेरो हुँदै आएकामा अब त्यो अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।

गत भदौ २४ को घटनाले मन्त्रालयको सुरक्षासमेत एउटा कारण बनेको बताउँदै प्रवक्ता बुढाथोकीले सिंहदरबारभित्र सारिँदा अरु मन्त्रालयसँग सहकार्य र सुरक्षा पनि हुने भन्ने सोचेर नयाँ संरचनाका लागि प्रधानमन्त्री कार्यालयसँग छलफल गरी पैरवीका आधारमा नयाँ संरचनामा सर्ने अवसर प्राप्त भएको बताउनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि राजेश एस पाण्डभले नवनिर्मित भवन नेपाल सरकार र विश्व स्वास्थ्य सङ्गठनबीचको बलियो साझेदारीलाई प्रतिबिम्बित गर्ने धारणा राख्नुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा स्पष्ट प्राथमिकतासहित तयार गरिएको योजनाले नेपाललाई अझ बढी उत्थानशिल हुन र स्रोत परिचालनमा ठोस आधार प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्वास्थ्य जोखिमको समयमै पहिचान, मूल्याङ्कन र प्रतिकार्य गर्न नेपालको क्षमता सुढृढ तुल्याउन सङ्गठनले सहयोग गर्ने विश्वास दिलाउनुभयो ।

मन्त्रालयले आफ्ना सेवाग्राहीलाई सहज रूपमा सेवा प्रवाह गर्न गृहकार्य गरिरहेको जनाउँदै मन्त्रालयका लागि स्थायी संरचना प्राप्त भएमा ‘प्रिफ्याब’ भवन खोलेर अन्यत्र प्रयोग गर्न सकिने जनाएको छ । रासस