तनहुँ। जिल्लाको व्यास नगरपालिका–१४ स्थित केशवटार आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माणका लागि यहाँका दुई व्यक्तिले पाँच रोपनी १२ आना जग्गा दान गरेका छन् ।
स्थानीय अमृता आले र नरबहादुर थापाले करिब रु चालिस लाख बराबरको जग्गा दान गरेका हुन् । पहिलो चरणमा एक ढलानको चारकोठे सुविधा सम्पन्न भवन निर्माणको लागि काम सुरु गरिएको कार्यवाहक वडाध्यक्ष दुर्गा आलेले जानकारी दिनुभयो ।
व्यास नगरपालिकाको सहयोगमा रु पच्चीस लाख बजेट विनियोजनपश्चात भवन निर्माणका लागि शिलान्यास गरी काम अघि बढाइएको कार्यवाहक वडाध्यक्ष आलेले बताउनुभयो । उहाँले भन्नुभयो, “वडा कार्यालय परिसरमा रहेको एक भवनबाट काम चलाउ किसिमले स्वास्थ्य सेवा प्रवाह गर्दै आएका छौँ ।”
विसं २०७२ को भूकम्पले उक्त भवन चर्किएर छियाछिया भएकाले जोखिम मोलेर कर्मचारीले सेवा दिँदै आएकाले नयाँ भवनका लागि पहल गरिएको हो ।
उक्त स्वास्थ्य केन्द्रमा वडावासीका साथै छिमेकी पालिका बन्दीपुर–३ का सुखौरा र रामकोटलगायत क्षेत्रका बासिन्दाले सहज रूपमा सेवा लिँदै आएको अध्यक्ष आलेले बताउनुभयो । रासस










