७ पुष २०८२, सोमबार
,
Latest
‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

फूलखेतीबाट एक याममा पाँच लाख बढी आम्दानी



अ+ अ-

वालिङ । स्याङ्जाको चापाकोट नगरपालिका-१ चौघेराका तुल्सीराम भण्डारीले व्यावसायिक फूलखेतीबाट एक याममा पाँच लाख बढी आम्दानी गर्दै आउनुभएको छ । पूर्वशिक्षकसमेत रहनुभएका उहाँले दसैँ र तिहारलाई लक्षित गरी फूलखेती गर्दै आउनुभएको हो ।

गत असारमा शिक्षण पेसाबाट अवकाश लिनुभएका भण्डारीले फुर्सदको समयलाई सदुपयोग गरी फूलखेतीमा गरिरहेको बताउनुभयो । दसैँ, तिहार, छठलगायत धार्मिक कार्यहरूलाई लक्षित गरी दुई चरणमा फूलका बिरुवा रोप्ने गरेको उहाँले जानकारी दिनुभयो । दसैँ, तिहारलाई लक्षित गरी तीन रोपनी क्षेत्रफलमा र मङ्सिरपछि उत्पादन हुनेगरी थप दुई रोपनी क्षेत्रफलमा फूलखेती गरेको उहाँले बताउनुभयो ।

“शिक्षण पेसामा रहँदै गर्दा पनि बिहानबेलुकाको समयमा कम मात्रामा फूलखेती गरेको थिएँ”, उहाँले भन्नुभयो, “फूलखेतीबाट मनग्य आम्दानी हुने देखेपछि अहिले पूरै समय व्यावसायिक फूलखेतीतर्फ जोडिएको हुँ ।”

बाँदरले अन्नबाली नष्ट गरिदिएपछि विकल्पका रूपमा सयपत्री फूलखेती थालेको भण्डारीले बताउनुभयो । अन्नबालीको विकल्पमा फूलखेतीको व्यावसायिक उत्पादन गर्नुभएका उहाँले मागअनुसार फूल पुर्‍याउन नसेकेको उल्लेख गर्नुभयो । “सयपत्री फूल र मालाको माग अत्यधिक आएको छ”, उहाँले भन्नुभयो, “मागअनुसार उपलब्ध गराउन सकिएको छैन ।” यहाँ उत्पादन भएको फूल बुटवल, नारायगढ, बर्दघाट, पोखरालगायत स्थानीय बजारमा सजिलै बिक्री हुने गरेको छ ।

उहाँले ‘कर्मा ५५५ मेरीगोल्ड’ जातको फूल लगाउनुभएको छ । उहाँललाई श्रीमती र छोरद्वयले सहयोग गरिरहनुभएको छ । यहाँ उत्पादन भएको फूलको बजारीकरणका लागि माग भई आएका ठाउँमा आफैँ पुर्‍याउने वा गाडीमार्फत पठाइदिने काम छोराहरूले गर्दै आएका उहाँले बताउनुभयो ।

भण्डारीले फूलका थुङ्गा थोकमा प्रतिकिलो रु ३००, फुटकरमा प्रतिकिलो रु ४०० देखि ४५० र माला प्रतिगोटा रु ९० सम्ममा बिक्री गर्दै आएको जानकारी दिनुभयो । ग्राहकको मागका आधारमा माला वा फूलका थुङ्गा दुवै बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।

भण्डारीका अनुसार यस वर्षको हालसम्म करिब रु छ लाखको फूल तथा माला बिक्री भइसकेको छ । तिहारपछि पनि बुटवल तथा स्थानीय बजारबाट फूल र मालाको माग आइसकेको उहाँले बताउनुभयो । “असारमा लगाएको बेर्नाले दसैँदेखि उत्पादन दिन थालेको हो”, उहाँले भन्नुभयो, “दोस्रो चरणमा लगाएको फूलको उत्पादन मङ्सिरसम्म लिन सकिन्छ ।”

गतवर्ष एकै याममा फूल र माला बिक्रीबाट रु पाँच लाखभन्दा बढी आम्दानी भएको जनाउँदै उहाँले यस वर्ष रु १० लाख बढी आम्दानी गर्ने लक्ष्य रहेको बताउनुभयो ।