काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले सशस्त्र प्रहरी उपरीक्षक (एसपी) लाई धम्क्याएको भनिएको अडियो सार्वजनिक भएको विषयमा तत्काल छानबिन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद संग्रौलाले राज्यको चेन अफ कमान्ड र मर्यादालाई चुनौती दिने गरी आएको उक्त अभिव्यक्तिबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्नुभयो।
उहाँले कञ्चनपुरका भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकलाई अत्यन्त तल्लो स्तरको भाषा प्रयोग गर्दै धम्क्याएको विषयले राष्ट्रिय सुरक्षा निकाय र निजामती सेवाको मर्यादामाथि प्रश्न उठाएको बताउनुभयो।

सार्वजनिक भएको भनिएको अडियोमा ती अधिकृतले सशस्त्र प्रहरी महानिरीक्षकदेखि गृहमन्त्रीसम्मलाई लक्षित गर्दै ‘स्वाट्टै हान्छु’ जस्ता धम्कीपूर्ण अभिव्यक्ति दिएको सुनिएको सांसद संग्रौलाले बताउनुभयो।
उहाँले भन्नुभयो, “एउटा भन्सार अधिकृतले गृहमन्त्रीलाई नै हान्ने क्षमता राख्छन् भने यो सदनमा हामी के गरिरहेका छौं ?”
‘स्वाट्टै हान्छु’ भन्ने अभिव्यक्ति फोन हान्ने, भेटेर आक्रमण गर्ने वा पद खोस्ने अर्थमा प्रयोग भएको हो भन्ने स्पष्ट हुनुपर्ने उहाँको भनाइ थियो।
राजस्व चुहावट नियन्त्रणमा खटिएका सुरक्षाकर्मीको मनोबल गिराउने तथा राज्यका उच्च पदाधिकारीलाई सार्वजनिक रूपमा चुनौती दिने कार्य स्वीकार्य नहुने भन्दै सांसद संग्रौलाले घटनाको तत्काल छानबिन गर्न सरकारसँग माग गर्नुभयो।
उहाँले छानबिनबाट सम्बन्धित अधिकृत दोषी देखिए कानुनबमोजिम कारबाही गर्नसमेत सरकारको ध्यानाकर्षण गराउनुभयो।







