८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ? News Polar जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग News Polar प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो News Polar घट्यो सुनचाँदीको मूल्य News Polar बैंकिङ क्षेत्रलाई ‘मुटु’ भन्दै संवेदनशील रूपमा व्यवहार गर्न सिबिफिन अध्यक्ष उपाध्यायको आग्रह News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा News Polar प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी News Polar खोलामा फसेको यात्रुवाहक बसबाट सबै यात्रुको सकुशल उद्धार News Polar एमाले सचिवालय बैठक सुरूः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव

ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा

ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा
अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता सूर्यबहादुर थापाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमाथि भइरहेको आलोचनाको बचाउ गर्दै ओलीबिनाको एमाले सम्भव नभएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै थापाले ओलीलाई घमण्डी, अहंकारी, दम्भी, हेपाहा, कडा बोल्ने र एकल निर्णय गर्ने नेताका रूपमा गरिने टिप्पणीहरू स्वार्थप्रेरित रहेको दाबी गरेका छन्। उनले ओलीको राजनीतिक जीवन, नेतृत्व क्षमता, देशभक्ति र पार्टी निर्माणमा योगदानलाई मूल्यांकन गर्नुपर्ने बताएका छन्।

थापाले सुस्ता–महेशपुरको अतिक्रमणविरुद्ध ओलीले युवावस्थादेखि नै आवाज उठाएको, भारतीय नाकाबन्दीका बेला दृढ अडान लिएको तथा चीनतर्फ पारवहन नाका खोल्ने काममार्फत नेपालको भूपरिवेष्ठित अवस्थालाई भूजडित अवस्थातर्फ अघि बढाएको उल्लेख गरेका छन्। संसदमा कालापानी क्षेत्रमा भएको भारतीय अतिक्रमणको विषय उठाउनेदेखि कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको चुच्चे नक्सा प्रकाशन तथा संविधान संशोधनमार्फत त्यसलाई निशान छापमा समावेश गर्ने कामको नेतृत्व ओलीले गरेको पनि उनले बताएका छन्।

नेपालको कम्युनिस्ट आन्दोलनलाई विभाजन र असफलताको अवस्थाबाट सफलताको शिखरसम्म पुर्‍याउन ओलीको नेतृत्वदायी भूमिका रहेको थापाको दाबी छ। पछिल्लो समय एमालेले ठूलो राजनीतिक प्रहार, घेराबन्दी र धक्का बेहोरे पनि पार्टी पुनः उठ्ने आधार अझै रहेको उनले बताएका छन्।

ओलीमाथि भ्रष्टाचार वा व्यक्तिगत स्वार्थका लागि पार्टीलाई धोका दिएको आरोप लगाउन नसकिने दाबी गर्दै थापाले ओली र उनकी श्रीमतीको स्वआर्जित निजी सम्पत्तिसमेत राष्ट्रलाई सुम्पिएको उल्लेख गरेका छन्। साथै धरहरा, रानीपोखरी, काष्ठमण्डपलगायत राष्ट्रिय सम्पदाको पुनर्निर्माण, भूकम्प तथा विपद् प्रभावितका घर निर्माण र सुरुङमार्ग निर्माणको सुरुवातलगायत विकास निर्माणका काममा ओली नेतृत्वको सरकारले अघि बढाएका कामहरू विशिष्ट रहेको उनले बताएका छन्।

थापाले ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणालाई राष्ट्रिय गन्तव्य निर्धारण गर्ने प्रयासका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार ओलीको स्पष्ट, दृढ र मौलिक अभिव्यक्ति शैलीलाई कतिपयले आलोचना गरे पनि त्यसलाई सन्दर्भसहित बुझ्न आवश्यक छ।

ओलीको उखान–टुक्का तथा बिम्ब प्रयोग गर्ने शैलीको बचाउ गर्दै थापाले त्यसलाई उनको मौलिक अभिव्यक्ति क्षमताका रूपमा प्रस्तुत गरेका छन्। भाइरल बनाउने उद्देश्यले ओलीका भनाइका केही शब्द वा अंशलाई तोडमरोड गरेर प्रस्तुत गर्ने प्रवृत्तिभन्दा त्यसको सन्दर्भ र प्रसंग बुझ्नुपर्ने उनको भनाइ छ।

ओली असहमत व्यक्तिसँग पनि संवादमा रहने, व्यक्तिको पद, ओहदा, उमेर, जात वा वर्गका आधारमा नभई समान र सम्मानपूर्ण व्यवहार गर्ने तथा निरन्तर अध्ययनमा जोड दिने स्वभावका नेता भएको थापाले बताएका छन्। विरोधी पक्षका नेता–कार्यकर्तासँग समेत ओलीको निकट र उदाहरणीय सम्बन्ध रहेको उनको दाबी छ।

थापाले ओलीको कडा अभिव्यक्ति शैलीका कारण आलोचना गर्नेहरू बढी तिलमिलाएको टिप्पणी गरेका छन्। उनका अनुसार ओली कसैलाई खुसी पार्न आफ्नो कुरा नलुकाउने र आवश्यक ठाउँमा कडा रूपमा प्रस्तुत हुने नेता हुन्।

७६ वर्षको उमेरमा पुगेका ओलीले लामो राजनीतिक संघर्ष, जेल, गोलघर, यातना, गिरफ्तारी र अपमान भोगेको उल्लेख गर्दै थापाले अहिले उनको नेतृत्व शैलीमाथि अनावश्यक आलोचना गर्नु अर्थहीन भएको बताएका छन्। उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै राजनीतिक रूपमा सहज वातावरण निर्माण गर्दै भविष्यमा योजनाबद्ध रूपमा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ।

थापाले देशी–विदेशी शक्तिबाट चुनौती सिर्जना भइरहेको अवस्थामा पार्टी र राष्ट्रको नेतृत्वलाई सहयोग गर्नुपर्ने बताएका छन्। सत्तामा हुँदा ओलीको प्रशंसा गर्नेहरू प्रतिकूल परिस्थिति आउँदा आलोचना र निन्दामा उत्रिएको भन्दै उनले त्यसलाई राजनीतिको आरोह–अवरोहका रूपमा व्याख्या गरेका छन्।

एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको सुरुवात तनावपूर्ण रहे पनि तीन दिनको छलफलपछि धेरै विषय स्पष्ट भएको र राजनीतिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको थापाले उल्लेख गरेका छन्। उनले ओलीलाई अध्यक्षबाट हटाएपछि मात्रै एमाले अघि बढ्न सक्छ भन्ने ‘फेक न्यारेटिभ’ खोक्रो साबित भएको दाबी गरेका छन्।

उनले राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएका दुई कार्यभार र १५ कामलाई सटीक रहेको बताएका छन्। बैठकपछि नेताहरू एकताबद्ध भएको घोषणा हुनु महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै थापाले त्यसलाई ओलीको नेतृत्व र नेतृत्वदायी भूमिकाको परिणामका रूपमा व्याख्या गरेका छन्।

ओलीविरुद्ध भित्र र बाहिरबाट निरन्तर आलोचना भइरहे पनि उनको स्वीकार्यता, प्रभाव र पकडमा कमी नआएको थापाको दाबी छ। उनले ओलीलाई एमालेको नेतृत्वबाट अलग गराउने प्रयासमा लागेकाहरूलाई यस्तो प्रयास नगर्न आग्रह गरेका छन्।

थापाले अन्त्यमा भनेका छन्, “ओलीबिनाको एमाले किमार्थ पनि सम्भव छैन। एमालेबिनाको नेपाल बनाउन चाहनेहरूको इच्छा झन् पूरा हुने छैन।”