काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय वा शैक्षिक संस्थाका रूपमा विकास गर्ने प्रयास नगर्न आग्रह गर्नुभएको छ ।
बिहीवार संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथिको छलफलमा भाग लिँदै मन्त्री पुनले प्रयोगशालाको प्राथमिक उद्देश्य अनुसन्धान र नवप्रवर्तन हुनुपर्ने बताउनुभएको हो ।

उहाँले नेपालमा विश्वविद्यालय खोल्ने प्रतिस्पर्धा चले पनि गुणस्तरीय पठनपाठनमा पर्याप्त ध्यान नदिइएको बताउनुभयो । विधि विज्ञान प्रयोगशालालाई आम्दानीको स्रोत वा डिग्री वितरण गर्ने संस्थाका रूपमा विकास गर्दा यसको मूल उद्देश्य नै कमजोर हुन सक्ने उहाँको भनाइ थियो ।
मन्त्री पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लगायत अनुसन्धानमा केन्द्रित हुनुपर्ने संस्थाहरूले समेत पठनपाठन र डिग्री प्रदान गर्ने काममा लाग्नु उचित नभएको बताउनुभयो । पठनपाठनका लागि मुलुकभर पर्याप्त विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू रहेकाले विधि विज्ञान प्रयोगशालालाई अनुसन्धानमै केन्द्रित गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
‘नेपालमा अहिले धेरै विश्वविद्यालय खोल्ने दौड छ, तर गुणस्तरमा कसैको ध्यान छैन । विधि विज्ञान प्रयोगशालाजस्तो अति आवश्यक संस्थालाई शैक्षिक प्रतिष्ठानको रूप दिँदा भोलि यसलाई पूर्ण विश्वविद्यालय बनाउने दबाब सिर्जना हुन सक्छ, जुन संस्थागत हितमा छैन,’ उहाँले भन्नुभयो ।
मन्त्री पुनले विधि विज्ञानजस्तो संवेदनशील क्षेत्रलाई आर्थिक लाभसँग जोडेर कमजोर बनाउन नहुने बताउनुभयो । प्रयोगशालाले पठनपाठनमा सहयोग गर्न सक्ने भए पनि स्वयं विश्वविद्यालयको स्वरूपमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न नहुनेमा उहाँले जोड दिनुभयो।







