काठमाडौँ: परराष्ट्रमन्त्री शिशिर खनाल र आइसल्यान्डकी परराष्ट्रमन्त्री पाेर्गदर क्याट्रिन गुनार्सदोतिरबीच संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रका अवसरमा उहाँहरूबीच भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा दुवै परराष्ट्रमन्त्रीले जलवायुजन्य विपद्बाट उत्पन्न अभूतपूर्व आर्थिक तथा मानवीय क्षतिबारे विचार आदानप्रदान गर्नुभयो।

नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिका साथै जलवायु परिवर्तनका कारण बढ्दो जोखिमबारे पनि छलफल भएको थियो।
उहाँहरूले विपद्पछिको समयमै पुनःस्थापना, पुनर्मिलन तथा पुनर्निर्माणका लागि सरकारका सबै तह तथा समाजका सबै पक्षको समन्वित प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो।
विपद्बबाट प्रभावित समुदायलाई शीघ्र राहत तथा दीर्घकालीन पुनर्निर्माणतर्फ अघि बढाउन समग्र सरकारी तथा सामाजिक संयन्त्र परिचालन गर्नुपर्नेमा दुवै पक्षको समान धारणा रहेको थियो।
जलवायु परिवर्तनका बढ्दो जोखिम, क्षमता अभाव तथा स्रोतसाधनको सीमिततालाई सम्बोधन गर्न विश्वव्यापी ऐक्यबद्धता र अन्तर्राष्ट्रिय सहकार्य थप सुदृढ गर्नुपर्नेमा पनि दुवै परराष्ट्रमन्त्रीहरूले जोड दिनुभयो।








