७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर र काठमाडौँ प्रहरीमा बालेन र सुधनविरुद्ध नेविसंघको उजुरी



अ+ अ-

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको ‘जेन–जि आन्दोलन’का क्रममा घुसपैठ गराई निजी तथा राष्ट्रिय सम्पत्ति तोडफोड र आगजनी गराएको आरोप लगाउँदै नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र आन्दोलनका अगुवा सुधन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दर्ता गरेको छ ।

नेविसंघले दर्ता गरेको जाहेरीमा बालेन र हामी नेपालका संस्थापक गुरुङले भिड उतारी राष्ट्रिय सम्पदा ध्वस्त बनाएको, सरकारी तथा निजी सम्पत्ति लुटपाट गराएको, र विद्यार्थीहरूलाई विद्यालय पोसाकमै सडकमा आन्दोलनमा उत्रिन उक्साएको आरोप उल्लेख गरिएको छ ।

संघका अनुसार बालेन र सुधनले नियोजित रूपमा आन्दोलनमा घुसपैठ गराएर सार्वजनिक सम्पत्तिलाई क्षति पुर्याएका थिए । उक्त घटनामा संलग्नहरूको अनुसन्धान र कानुनी कारबाहीको माग गर्दै संघले जिल्ला प्रहरी परिसर काठमाडौँ र ललितपुरमा छुट्टाछुट्टै जाहेरी दर्ता गरेको जनाएको छ ।

यसअघि नेकपा एमाले निकट अनेरास्ववियुले पनि सोही मुद्दामा मेयर बालेन र सुधन गुरुङविरुद्ध जाहेरी दर्ता गराइसकेको थियो ।

जेन–जि आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालमाथि ओली र लेखकलाई पक्राउको दबाब दिइरहेका बेला उल्टै बालेन र सुधनविरुद्ध पनि उजुरी पर्न थालेका छन् ।

बालेन र सुधन दुवैले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि आन्दोलनमार्फत् कारबाहीको दबाब बढाइरहेका थिए ।