काठमाडौं। नेपाली क्रिकेट टोलीले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको दोस्रो अभ्यास खेलमा पनि जित हासिल गरेको छ।
सोमबार नेपालले कतारलाई १६ रनले पराजित गर्यो। नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५४ रनमात्र बनाउन सक्यो ।
कतारका मुहम्मद तनविरले सर्वाधिक ५१ रन बनाए। ३७ बल खेलेका उनले तीन चौका र दुई छक्का प्रहार गरे। मोहम्मद ब्रइगले ४० र मुहम्मद असीमले ३० रनको योगदान दिए।
नेपालका करण केसीले सर्वाधिक तीन विकेट लिए। नन्दन यादव, दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीको नाममा समान एक विकेट रह्यो।
त्यसअघि अल अमारत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले सात विकेट गुमाउँदै १७० रन बनाएको थियो।
ओपनर कुशल भुर्तेलले सर्वाधिक ५६ रन बनाए। ३३ बल खेलेका उनले पाँच चौका र तीन छक्का प्रहार गरे। कुशल मल्ल र दीपेन्द्रले समान ३८ रन बनाए।
कतारका मुनिर साद र इक्रमुल्लाह खानले २-२ विकेट लिँदा आरिफ उल्लाह र मुजीब उर रेहमानले १-१ विकेट लिए ।










