२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद ‘अपहरण’को जाहेरी प्रहरीमा



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले दिएको अपहरणसम्बन्धी उजुरी जिल्ला सरकारी वकिल कार्यालयबाट प्रहरीमा पुगेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले जाहेरी दर्ता गरेर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ । 

गत २२ वैशाखमा जिल्ला सरकारी वकिल कार्यालयले अपहरणको जाहेरी दर्ता गरेको थियो । चार दिनपछि शुक्रबार जाहेरी प्रहरीमा पुगेको हो । प्रहरीले लिन नमानेपछि सांसद डा। यादवले सरकारी वकिल कार्यालयमा जाहेरी दिएका थिए । 

सांसद यादवले नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसन) तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध किटानी जाहेरी दिएका थिए । सरकारी वकिल कार्यालयबाट आएको जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले बताए । 

स्रोतका अनुसार प्रहरीले घटनास्थलको मुचुल्कासमेत संकलन गरेको छ । शुक्रबार नै प्रहरी टोली होटेल म्यारियट पुगेर मुचुल्का बनाएको हो । मुचुल्कामा कसुर भएको मिति र समय, कसुर भएको ठाउँको ठेगाना, विवरण र रेखाचित्र, सम्बन्धित ठाउँको वस्तुस्थिति तथा कसुर वा कसुरदारसँग त्यसको सम्बन्ध र कसुर भएको ठाउँ, त्यसवरपर देखिएको दसी प्रमाण र कसुरसँग सम्बन्धित अन्य उल्लेखनीय कुरा समावेश हुन्छन् । घटनाको अनुसन्धान अधिकृत तोकिएका काठमाडौं परिसरका डिएसपी कृष्ण चन्द नेतृत्वको टोलीले सो विवरण संकलन गरेको हो । 

फौजदारी अपराध (कार्यविधि) संहितामा प्रहरीले जाहेरी दर्ता गर्न नमाने सरकारी वकिल कार्यालयले दर्ता गरेर यथाशीघ्र प्रहरीमा पठाउनुपर्ने उल्लेख छ । सरकारी वकिल कार्यालयले पठाएको जाहेरी दर्ता गर्न प्रहरी बाध्यकारी हुन्छ । गत १४ वैशाखमा डा. यादवसहित जनता समाजवादीका नेताहरू जाहेरी लिएर महानगरीय प्रहरी परिसर काठमाडौं गएका थिए । तर, महोत्तरीको कार्यक्षेत्र पर्ने भन्दै प्रहरीले जाहेरी लिन अस्वीकार गरेको थियो । 

प्रहरीका दुई विकल्प 
मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ अनुसार अब प्रहरीसँग दुईवटा विकल्प छन् । पहिलो विकल्प भनेको प्रारम्भिक अनुसन्धान गरेर जाहेरी तामेलीमा राख्न सरकारी वकिल कार्यालयमा पठाउने । दोस्रो, विस्तृत अनुसन्धान गरेर मुद्दा चलाउन रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाउने । स्रोतका अनुसार प्रहरीले पहिलो विकल्पलाई प्राथमिकतामा राखेको छ । प्रभावशाली व्यक्तिविरुद्धको जाहेरी भएकाले त्यसलाई तामेलीमा राख्न प्रहरीमाथि दबाब छ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।