२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

असफल सरकार ! कूटनीतिक नोट पनि पटक पटक दिइन्छ र ?



अ+ अ-

नारदमुनि शर्मा  
काठमाडौँ । परराष्ट्र मन्त्रालयले नेपालका लागि भारतीय राजदूतलाई आज मन्त्रालयलमा बोलाएर कूटनीतिक नोट दिएको छ । काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्रालाई आज अपरान्ह मन्त्रालयमा बोलाएर लिपुलेकमा नेपाली भूमि मिचेर सडक खनेको विषयमा जानकारी लिएको छ र कूटनीतिक नोट दिएको छ । परराष्ट्र मन्त्रालयमा राजदूतसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उक्त घटनाको विषयमा जानकारी लिएका थिए । त्यस अवसरमा उनले नेपालका तर्फबाट भारत सरकारलाई कूटनीतिक नोट पनि दिएको परराष्ट्र स्रोतले जनाएको छ । नेपाली भूमिमा पर्ने लिपुलेकमा विना सूचना भारतले सडक निर्माणलगायतका गतिविधि जारी राखेकामा राजदूत क्वात्रालाई कूटनीतिक नोट दिइएको परराष्ट मन्त्रालयले विज्ञप्तिमा जनाएको छ । भारतले लिपुलेकमा नेपाली भूमि मिचेर निर्माण गरेको सडक हालै उद्घाटन गरेको थियो । परराष्ट्र मन्त्रालयले यसअघि नै विज्ञप्ति जारी गरी उक्त घटनाको विरोध गरिसकेको छ । 

कूटनीतिक नोट कुनै पनि देशले अर्काे कुनै देशलाई विशेष अवस्थामा आफ्ना तर्फबाट विरोध जनाउन र राष्ट्रका तर्फबाट आफ्नो धारणा राख्नका लागि दिइने नोट हो । यसलाई कुनै पनि देशको कूटनीतिमा विरोधको हदैसम्मको ‘एक्सन’ का रुपमा लिने गरिन्छ । कुनै देशले अर्काे राष्ट्रले गरेका कार्यको विरोध गरेर त्यस देशको ध्यानाकर्षण समेत गराउनका लागि दिइने यो नोटको विशेष महत्व हुन्छ । यसरी नोट दिइसकेपछि त्यस देशले आफ्नो एजेण्डालाई स्थापित गराउन कूटनीतिक कौशलाता प्रदर्शन गर्नुपर्छ । अर्थात नोटमा लेखिएकै स्वरुपमा नोट दिने राष्ट्रले आफ्नो कूटनीतिक कौशलताको माध्यमबाट त्यो मुद्दामा विजय प्राप्त गर्न सक्नुपर्छ । त्यसैले यो नोट दुर्लभ समय र अवस्थामा दिइने दुर्लभ प्रकारको विरोध पत्र हो ।

तर हामीकहाँ भने नेपालले भारतलाई छ महिनाभित्रै दुई दुई पटक कूटनीतिक नोट दिएको छ । यसअघि पनि लिपु लेकको लिम्पिया धुरालाई मिचेर भारतको नक्सामा समेटेर नयाँ नक्सा निकालेको भनेर भारतलाई यस्तो नोट यही सरकारले दिएको थियो । यिनै परराष्ट्र मन्त्रीले त्यतिबेलाका भारतीय राजदूत मन्जिवसिंह पुरीलाई दिएका थिए । तर त्यस विषयमा केही गर्न सकेन सरकारले । प्रधानमन्त्री केपी ओलीले  त्यो भूमि फिर्ता ल्याइन्छ भनेर संसदलाई आस्वस्त तुल्याए । त्यहाँ रहेका भारतीय सेना हटाउन भनेर सरकार लागेको भनियो । तर नत त्यहााँट सेना हटेको छ न त्यस भूभाग फिर्ता ल्याएर त्यसलाई समेटेर नेपाल सरकारले नयाँ नक्सा नै जारी गर्न सकेको छ । सीमा वार्ता पनि सरकारले यो अवधिमा गर्न सकेन ।

 
बरु उल्टै आज त्यसको छ महिनाभित्रै त्यही हाम्रो भूभागबाटै भारतले बाटो नै बनायो । २० किलोमिटर भन्दा बढी बाटो भारतले हाम्रै भूभागबाट लगेको भनिएको छ । आज फेरि सरकारले उही पुरानै काम दोहोरायो र अर्काे यस्तै नोट दियो । यस बीचमा सरकारले न विदेशमन्त्री र नता प्रधानमन्त्रीस्तरमा नै वार्ता गर्न सक्यो । अहिले पनि आज कूटनीतिक नोट दिएको मात्र प्रचार गरिरहेको छ र सरकारको समर्थन गर्ने नेता, दल तथा कार्यकर्ताहरुले यसैको प्रचार गरिरहेका छन् । त्यसैले यसरी बारम्बार नोटमात्र दिने र त्यसमा केही काम गर्न नसक्ने यो सरकारलाई नेपालको कूटनीतिक क्षेत्रका जानकारहरु भने कूटनीतिक असक्षमता रहेको असफल सरकार भनेका छन् ।