२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा कोरोना संक्रमित ७० हजार नाघ्यो, आजदेखि रेल चल्यो, नेपाललाई खतरा बढ्यो !



file photo
अ+ अ-

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । दैनिक नयाँ संक्रमित हुनेको संख्या अहिलेसम्मकै उच्च पुगेको छ । मंगलबार बिहानसम्म यो संख्या ७० हजार नाघेको वल्र्डओमिटरले जनाएको छ । वल्र्डओमिटरले जनाएअनुसार मंगलबार बिहानसम्म भारतमा संक्रमितको संख्या ७० हजार ७६८ देखिएको छ । यो संख्या अहिलेसम्मकै बढी हो । उक्त तथ्यांकअनुसार गएको २४ घन्टामा त्यहाँ चार हजार भन्दा बढी थपिएका छन् । यो संख्या संक्रमण पाइएदेखिकै उच्च हो । भारतमा अहिलेसम्म दुई हजार तीन २९४ जनाले ज्यान गुमाइसकेका छन् । संक्रमितमध्ये २२ हजार जना निको भएर घर फर्किसकेका छन् । भारतमा सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा रहेका छन् । त्यसपछि गुजरात र राजधानी नयाँदिल्लीमा बढी मानिस संक्रमित भइसकेका छन् ।
 

भारतमा आजदेखि रेलसेवा सुरु
उता भारतमा झण्डै दुई महिना पछि मंगलबारदेखि रेल सेवा पुनः सञ्चालन हुने भएको छ । कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि भन्दै भारत सरकारले दुई महिनाअघि रेलवे बन्द गरेको थियो । उक्त रेलसेवामध्ये राजधानी नयाँ दिल्लीमा भने मंगलबार देखि पुनः सुचारु हुने भएको हो ।  भारतका रेलवे मन्त्री पियुष गोयलले मंगलबारदेखि रेलवे पुनः सञ्चालनमा आउने जानकारी दिए । आइतबार उहाँले ट्वीट गर्दै सो जानकारी दिएका थिए । उनको जानकारी लगत्तैपछि रेल सेवा सञ्चालनको तयारी गरिएको छ । रेल सेवाका लागि सोमबारदेखि नै अनलाइन बुकिङ भएको छ । सोमबार अपराह्न ४ बजेदेखि अनलाइन बुकिङको काम सुरू भएको हो । मंगलबारदेखि सुरु हुन लागेको यस सेवाका लागि रेलवे सेवाका काउन्टरहरूबाट भने टिकट किन्न पाइने छैन । काउन्टरमा भीडभाड हुने भएकोले अनलाइनबाटै टिकट किन्न पाइने अधिकारीहरुले जानकारी गराएका छन् । भारत सरकारका अनुसार मंगलबार नयाँ दिल्लीबाट १५ वटा रेल देशभरका मुख्य रेलवे स्टेसनका लागि छुट्ने छन् । भारतीय सञ्चारमाध्महरुले जानकारी दिएअनुसार नयाँ दिल्लीबाट अगरताला, होरह, पटना, विलासपुर, राँची, भुवनेश्वर, सिकन्दरावाद, बैंगलुरू, चेन्नाइ, थिरूवानानुथपुरम, मादगाउँ, मुम्बई सेन्ट्रल, अहमदावाद र जम्मु तावीका लागि रेलसेवा उपलब्ध हुने बताइएको छ । 

नेपाललाई खतरा 
भारतसँग नेपालको सीमा जोडिएकोले यो रोगका खतरा त छनै । किनभने अहिलेसम्म पनि नेपालमा पाइएका सबै संक्रमित भारतबाटै आएका हुन् । भारतमा दिन प्रतिदिन संक्रमित बढ्दै गएको मात्र नभएर त्यहाँ रेलसेवा नै आजबाट सञ्चालनमा आएपछि अब भारतमा अलपत्र परेका नेपालीहरु अब नेपालको सीमा क्षेत्र सम्म आउने निश्चितै छ । अर्काेकुरा भारत स्वयंले पनि नेपालीलाई नेपालको दशगजा क्षेत्रमा ल्याइदिएको भन्ने समाचार आजका नेपाली छापाहरुले दिइरहेका छन् । यसका कारण पनि नेपालमा अब भारतबाट आउने क्रम बढ्ने नै छ । यसको उचित व्यवस्थापन, आवश्यक समयसम्म क्वारेन्टिनमा राख्ने, आवश्यक औषधी उपचारको प्रबन्ध नेपाल सरकारले बडो तदारुकताका साथ गर्नुपर्दछ । अर्कातर्फ भारतमै पनि अब आजदेखि रेल सेवा नै सञ्चालन हुने भएकोले संक्रमितहरुको संख्या त्यहीँ पनि बढ्ने निश्चितै छ । यो मारमा हामी नेपाली पर्नसक्ने भएकोले यसतर्फ बेलैमा सोच्न नेपाल सरकारलाई सीमा क्षेत्रका नेपालीहरुले आग्रह गरिरहेका छन् ।