९ भाद्र २०८३, मंगलवार
,
Latest
स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

कविता – पिजडाभित्रको स्वतन्त्रता ।



अ+ अ-

आशाको थुन्सेसँगै थिलथिलो जिन्दगी बोकेर

उक्लिरहेछन् लरखराउँदै मेरा एकजोर खुट्टाहरू

सुस्केरा हाल्दै तिर्खाएरै हो जिन्दगीले

अञ्जुली थापी पिइरहेछन्

एकजोर आँखाबाट बगेका ती गरिबीहरू ।

 

देश भत्काउँदा माटोमा भेटिनू पर्थ्यो

शहीदका आहुतिका टाउकाहरू

काटिएका शहीदका हजारौँ हातहरू

एकचौथाई अपयव चुँडिदा आमाको

सुनिनुपर्थ्यो छातीमा अँगालेर रूईरहेकी

लिपुलेक

लिम्पियाधुरा

र कालापानीका हाँक र क्रन्दनहरू

भेटिनू पर्थ्यो एउटा सत्यनिष्ठा हली

जसले अघाएका एकजोर गोरु नारेर जोतिरहेका

तराई

पहाड् र हिमालहरू ।

 

अझै भेटिनू पर्थ्यो

मजेत्रो च्यातिएझैँ च्यातिएका नेपाल आमाकी सीमाहरू

दशरथ चन्द

धर्मभक्त माथेमा

गंगालाल श्रेष्ठ

र शुक्रराज शास्त्रीहरूसँगै बेपत्ता पारिएका शहीदहरू

अझै खोजिनू पर्थ्यो

आफ्नै देशमा हराएका मदन भण्डारीहरू

लेखिनू पर्थ्यो राष्ट्रवादका कविताहरू

शहीदका रगतका कलमहरूले

गाइनू पर्थ्यो अझै जिबन शर्माका गीतहरू ।

 

तर अहँ,

ब्युँझदै छकोटी आँखाले देखेका सपनाहरू

गर्ल्याम्मै ढले यसरी

जसरी ढले मेरा देशका भीमसेनस्तम्भ

तै पनि होंचो भएन र ढलेन कहिल्यै

मेरो सगरमाथाको त्यो अग्लो स्वाभिमान

ननिभ्यो कहिल्यै मभित्रको देशप्रेमको दियो

नहरायो कहिल्यै मभित्र देश सिउने सियो

अझै म बाँचिरहेछु यसरी

जसरी बाँचिरहेछन् निसासिएर

मुढाले थिचिएका पहेंला निरीह दूबोहरूझैँ ।  

 

ए कानहरू हो १

किन सुन्दैनौ हँ ?

चिहानबाट आएका शहीदहरूका आवाजहरू

ए आँखाहरू हो १

किन देख्दैनौ हँ ?

शहीदहरूका छातीका आलो घाउबाट

बगेका रगतका अरुण र कर्णालीहरू

ए बरफहरू हो !

किन पोल्दैन हँ ?

तिमीहरूका छाती

मेरोझैं स्वाभिमानको आगोले ?

 

उन्मुक्त नभएरै हो बहिरा पर्खालहरूमा

हिर्काइरहेछु म आक्रोशका हतोडाहरूले

हिंजो पनि रेटिएकै हुन् न्यायका घाँटीहरू

आज मेरो पालो रेटिने

तर रेटिने छैनन् कहिल्यै मभित्रको देशप्रेम

हो, निभाइने छ घाम झ्याप्पै म निभेपछि ।

 

साँच्चै भनुँ,

आफ्नै देशमाथिको खुला आकाश पनि

मलाई पिजडाजस्तै लाग्छ

पिजडाभित्रको 

स्वतन्त्रता पनि के को स्वतन्त्रता हो र ?

 

राजबाबु श्रेष्ठ 'सागर'

महोत्तरी, गौशाला न.पा. १