१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा

गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा
अ अ+ अ-

भोजपुर। पछिल्लो समय भोजपुरमा युवा गाउँमै रहेर विभिन्न उद्यम तथा व्यवसायमा जोडिने क्रम बढेको छ ।

विदेशबाट फर्किएका तथा गाउँमै रहेका युवाले कृषि तथा पशुपालनलाई व्यवसायका रूपमा अघि बढाएका छन् ।

उनीहरू व्यावसायिक रूपमा अलैँची, किवी, एभोकाडो, ओखर, चिराइतोखेती तथा बाख्रापालनमा जुटेका छन् । गाउँमै मिहिनेत गरेर कृषि तथा पशुपालनबाट आम्दानी गर्न सकिने भएपछि स्थानीय युवा त्यसतर्फ आकर्षित भएका हुन् । विदेशबाट फर्किएका केही युवाले विदेशमा सिकेको सीप र अनुभवलाई प्रयोग गर्दै व्यवसाय सञ्चालन गरेका छन् । उनीहरूले कृषि तथा पशुपालनलाई आत्मनिर्भर बन्ने माध्यम बनाएका छन् ।

टेम्केमैयुङ गाउँपालिका–५ चोलन्तीका युवा पुस्कर विष्ट विदेशबाट फर्किएपछि गाउँमै व्यावसायिक बाख्रापालनमा लाग्नुभएको छ । उहाँले सञ्चालन गर्दै आउनुभएको ‘पुस्कर कृषि तथा पशुपालन फार्म’मा बोयर र स्थानीय जातका बाख्रा पालिएको छ । छ वर्षअघिदेखि व्यावसायिक रूपमा बाख्रापालन गर्दै आउनुभएका विष्टले विदेशमा भन्दा राम्रो आम्दानी भएको बताउनुभयो ।

“विदेश जानुभन्दा आफ्नै ठाउँमा व्यवसाय गर्नसके राम्रो आम्दानी हुने रहेछ”, उहाँले भन्नुभयो । अर्का युवा भीमराज विष्ट मलेसियाबाट फर्किएर गाउँमै कृषि व्यवसायमा सक्रिय हुनुभएको छ । उहाँले भोजपुर नगरपालिका–६ मा बाख्रापालनसँगै सुन्तला, कागतीखेती गरिहनुभएको छ । गाउँमै व्यवसाय सञ्चालन गरेर उदाहरणीय बन्न सकिने उहाँको भनाइ छ ।

अर्का युवा लाल विष्टले पनि व्यावसायिक रूपमा अलैँचीखेती गर्दै आउनुभएको छ । पछिल्लो समय अलैँचीको मूल्यमा सुधार आएपछि स्थानीय युवा व्यावसायिक खेतीतर्फ आकर्षित भएको उहाँले बताउनुभयो । नयाँ तथा पुरानो बगान गरी करिब ४० रोपनीमा अलैँचीखेती गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

“व्यावसायिक रूपमा काम गर्दा यहीँ नै राम्रो आम्दानी गर्न सकिने रहेछ”, उहाँले भन्नुभयो, “मिहिनेत गर्न सकियो भने परिवारसँग बसेर वार्षिक रु चार–पाँच लाख कमाउन समस्या छैन । गाउँका धेरै युवा विदेशबाट फर्केर उद्यममा जोडिएको अवस्था छ ।”

कृषि तथा पशुपालनका क्षेत्रमा युवाको सक्रियता बढेसँगै स्थानीयस्तरमा रोजगारी सृजना हुनुका साथै उत्पादन र आम्दानी बढ्न थालेको उहाँको भनाइ छ ।

विदेशबाट फर्किएका युवाहरूले आफ्नै जमिन, स्थानीय स्रोतसाधन र सीपको प्रयोग गरेर व्यवसाय सञ्चालन गर्न थालेपछि गाउँको आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्न थालेको छ । रासस