काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गोकर्णेश्वर नगरपालिका–४ बाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार रामजीकुमार श्रेष्ठले निर्वाचन प्रक्रिया निष्पक्ष, पारदर्शी तथा विधिसम्मत नभएको भन्दै छानबिनको माग गरेका छन् ।
श्रेष्ठले असोज १५ गते नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा निवेदन दिँदै सम्बन्धित निर्वाचन प्रक्रियामा गम्भीर प्रश्न उठेको उल्लेख गरेका हुन् ।
कांग्रेसको विधान, नियमावली, निर्वाचन निर्देशिका तथा लोकतान्त्रिक निर्वाचनका मूल्यमान्यताअनुसार निर्वाचन निष्पक्ष, पारदर्शी, स्वतन्त्र र विधिसम्मत हुनुपर्नेमा सम्बन्धित तहमा निर्धारित प्रक्रिया पूर्ण रूपमा पालना नभएको उनको दाबी छ ।
उनले मतदान तथा मतगणनासम्बन्धी प्रक्रिया स्पष्ट रूपमा सम्पन्न नभएको तथा परिणाम घोषणाका विषयमा समेत प्रश्न उठ्ने अवस्था रहेको निवेदनमा उल्लेख गरेका छन् ।
यस्तो अवस्थाले उम्मेदवारको समान प्रतिस्पर्धाको अधिकार, प्रतिनिधिको सहभागिता तथा वास्तविक मताधिकारको प्रयोगमा असर परेको हुन सक्ने भन्दै श्रेष्ठले निर्वाचन परिणामलाई अन्तिम मान्यता दिनुअघि सम्पूर्ण प्रक्रियाको निष्पक्ष परीक्षण गर्न माग गरेका छन् ।
श्रेष्ठले सम्बन्धित वडा, प्रदेशसभा क्षेत्र तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनसम्मको प्रतिनिधि छनोट, उम्मेदवारी दर्ता, मतदान, मतगणना र परिणाम घोषणासम्मका सम्पूर्ण प्रक्रियाको छानबिन गर्न माग गरेका छन् ।








