१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै

एउटै लयमा घन्काऔं राष्ट्रवादी स्वर

एउटै लयमा घन्काऔं राष्ट्रवादी स्वर
अ अ+ अ-

श्रीराम न्यौपाने । राष्ट्र, जाति, वर्ग, समुदाय र तिनले अपनाउने सांस्कृतिक, सामाजिक, आर्थिक तथा व्यावहारिक जीवनशैलीबाट निर्मित सीमित भूगोलभित्रको असीमित संरचना हो । यो नागरिकको अस्तित्व र प्रतिष्ठासँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ । राष्ट्र र नागरिकको घनिष्टताभित्र स्वाभिमान नामको सन्तान हुर्किएको हुन्छ । त्यही हो राष्ट्रवाद अर्थात् राष्ट्रको सम्पूर्णता आफ्ना अवयवहरूमा सिञ्चित गर्नु राष्ट्रवाद हो ।

राष्ट्रवादलाई दुनियाले स्वार्थप्रेरित भई वा निस्वार्थ भावले उपयोगमा ल्याउँदै आएको छ । राजनीतिमा यो सत्ताको भ¥याङ बनेको देखिन्छ भने अर्थ वा वाणिज्य क्षेत्रमा कमाउको पुलिन्दा । त्यसैगरी वैदेशिक सम्बन्धमा यो लेनदेनको सौदाबाजी हो । कसैले भोको, खोक्रो वा नक्कली भनी राष्ट्रवादलाई हल्का रूपमा दर्ज गरेको पनि सुनिन्छ । वास्तवमा यसलाई उन्नतिको आधारशीला भन्नुपर्छ । नागरिकको पवित्र अन्तर्मनबाट जागृत हुने अनि समर्पणको भावले अनुमोदित रहने अनि मानवको अस्तित्व रक्षामा लाग्ने राष्ट्रवाद विश्व प्रसिद्ध महान् चिन्तन हो ।

ब्रह्माण्ड, विश्व र राष्ट्र शक्ति सन्तुलनमा अस्तित्ववान छन् । ब्रह्माण्डीय ग्रहहरूको सन्तुलित चक्र करोडौं वर्षदेखि निरन्तर सञ्चालित छ । पूँजीवादी–समाजवादी, आर्य–मुस्लिम–इसाई, प्राकृतिक स्रोतसाधन आदि तत्वहरूले पृथ्वीभित्रका शक्तिहरूलाई नियन्त्रणमा राख्दै आएका छन् । त्यसैले भिन्न जाति, धर्म, सम्प्रदाय, भाषा, वर्ग आदिलाई एकीकृत गरी समन्वयात्मक सन्तुलन कायम गर्न राष्ट्रवाद नै बलियो आधार बन्नेको देखिन्छ । यसका सामु जस्तोसुकै द्वन्द्व, अविश्वास, स्वार्थ अनि रणनीतिले शिर झुकाउनै पर्दछ । राष्ट्रियताको सवालमा राष्ट्रिय शक्तिहरूको एउटै मत भए दुस्मनहरू अवश्य परास्त हुन्छन् । राष्ट्र रहेमात्र व्यक्तिका महत्वकाङ्क्षाहरू जीवित रहन्छन् ।

मानिसहरू पूर्वाग्रही भएर राष्ट्रियताका सवालहरू र त्यसमा संलग्न व्यक्ति वा प्रवृत्तिको आलोचना गर्न पुग्छन् । कुनै नेतृत्वले विदेशीसामु घुँडा टेक्यो वा असमान सन्धि ग¥यो वा द्वेध चरित्र देखायो वा देश र जनतालाई ढाट्यो भन्ने टीकाटिप्पणी सुनिन्छन् । वास्तवमा जननिर्वाचितहरू वा जनताको मत चाहनेहरू यस्तो गद्दार हुनै सक्दैनन् । लोकप्रियता, कानून र प्रतिष्ठाको हेक्का नराख्ने शासक त तानाशाह मात्र हुन्छ । हिटलर, पोलपोट जस्ता शासकले राष्ट्र र विश्वलाई ध्वस्त पार्न खोजे । कतिपय देशहरूमा राष्ट्रघातीहरू सत्ताच्यूत भएका, मुद्धा लागेका र फाँसीमा झुण्ड्याइएका छन् । तिनीहरू राष्ट्रवादी बन्न सकेनन् किनकि सत्तामोहका अन्धा ती आफ्ना नागरिकसामु राष्ट्रवादी देखिन सकेनन् । अर्थात् तिनले आफ्नै जनतालाई अराष्ट्रिय तत्व, विदेशी दलाल अनि राष्ट्रघाती सम्झिए र सत्ताको दुरूपयोग गरे ।

नेपाली जनतामा राष्ट्रवाद थियो । पुर्खाहरूले शक्तिराष्ट्रहरूको बीचमा सानो देशलाई पनि स्वाधीन राखे । राजतन्त्रले राष्ट्रिय अखण्डतालाई केही हदसम्म जीवित राख्न खोज्यो । विश्वयुद्धहरूपछि शक्तिराष्ट्रहरू केही अनुशासित देखिए । रणनीतिक युद्ध सुरु भयो । नेपाली शाषकहरू अब भयरहित वा निश्चिन्त देखिए । आफ्नो सीमाना, देशवासी र सेवाप्रति आँखा चिम्लिए । देशको नक्सा अद्यावधिक भएन । परिणामतः पूर्व इलामदेखि तराई हुँदै पश्चिमका महेशपुर, सुस्ता अनि दार्चुलाको व्यास गाउँपालिकाको १ नम्बर वडाका कालापानी, लिम्पियाधुरा र लिपुलेकसम्मको ७१ स्थानको ६०६ वर्ग कि.मि. नेपाली भूमि भारतद्वारा अतिक्रमित भयो । सीमाविद् बुद्धिनारायण श्रेष्ठले १९५० को सन्धिका दसै बुँदाहरु कार्यान्वयन नभएको दुःखद् अवस्थाको स्मरण गर्दछन् ।  नेपालमा शासक र तन्त्र फेरियो तर सीमा सुरक्षा र राज्यको उपस्थिति हरायो । यतिमात्र होइन आयातमुखी, पराधीन अनि भिखारी प्रवृत्ति हुर्कियो । खानपान, जीवनशैली अनि कर्ममा नेपाल स्खलित हुँदै गयो । आज नेपाली शासकहरूमा राष्ट्रवाद औपचारिकतामा सीमित बन्न पुगेको छ ।

राष्ट्र त नागरिकको कल्पित स्वर्गभूमि हो । यसको सुख र समृद्धि हाम्रो जीवनसँग टाँसिएको हुन्छ । अहिले आफ्नो भूमि हडपिँदा नेपालीको मन रोएको छ । यतिबेला नेपाली आफ्नोे अङ्ग काटिएको ठानेका छन् । एकातिर नेपालीभित्रको लाचारी, कायरता र लापरवाहलाई गिज्याएको छ भने अर्कातिर छिमेकीको नियतको सक्कली चरित्रको परिचय दिएको छ । सन्धिका विधिविधान मिचेर छिमेकी देशमाथिको अतिक्रमण गर्नु राष्ट्रवाद होइन । यसले नाकाबन्दीपछिको केही सुघ्रिएको दुई देशबीचको सम्बन्ध चिसिने खतरा बढाउँछ । दुवैतिर आआफ्ना नागरिक, नातासम्बन्ध, कारोबार अनि आवतजावतको क्रम चलिरहेको छ । यस्तो सुमधुरतालाई भत्काउँदा राष्ट्रघात ठहरिन्छ । त्यसैले तुरुन्त द्विपक्षीय वा चीनसमेतको त्रिपक्षीय वार्ता गरी सीमाविन्दु निर्धारण गर्नुमा भारतीय राष्ट्रवाद प्रतिबिम्बित हुन्छ । युद्ध वा अदालत होइन कुटनीतिक वार्ताबाट समस्याको समाधान खोज्नु नेपाली राष्ट्रवाद हुने छ ।

राष्ट्रवादले राष्ट्रलाई अस्तित्ववान तुल्याउने हुँदा नागरिकलाई यसबारे दीक्षित तुल्याउनु आवश्यक छ । मानिसहरू नबुझेर वा निदाएको बाहाना गर्दै राष्ट्रवादी स्वरलाई हाँसोमा उडाउने वा गम्भीर रूपमा नलिने गरिएको पाइन्छ । सत्तापक्ष होस् वा प्रतिपक्षले संसद वा सञ्चार जगतमा राष्ट्रवादका सवालमा तर्कसङ्गत आलोचनात्मक अनि आक्रामक अभिव्यक्ति दिन सक्छ । यो पद वा शक्तिको व्यापार वा मोलतोल हो भन्ने ठान्नु सङ्कीर्ण चिन्तन हो । नेपालका सन्दर्भमा हेर्दा पृथ्वीनारायण, भीमसेन, जङ्गबहादुर, महेन्द्र, वी.पी. आदि नेतृत्वले गरेको काम राष्ट्रघाती होइन । सबैले एकै उचाइमा अवश्य योगदान दिएनन् होला तर उनीहरूमा राष्ट्रवाद थिएन भन्नु पक्षपाती ठहरिन्छ । 

विगतका शाषकभन्दा वर्तमान सरकार जनमुखी, सबल अनि क्रान्तिकारी छ भन्ने विश्वासका कारण अहिले नेपाली जनता सीमाअतिक्रमण विरुद्ध आँटिलो कदम चालोस् भन्ने चाहन्छन् । यसअघि सन्धि पुनरावलोकन र अन्य समस्यालाई वार्ताबाट टुङ्ग्याउन परराष्ट्र विज्ञ समुह पनि गठन गरेको छ । वार्तामा बस्न गरेको नेपाली अनुरोधलाई बेवास्ता गरी विवाद टुङ्ग्याउनुको सट्टा एकतर्फी बाटो बनाउनु हेपाहा प्रवृत्तिको ज्वलन्त उदाहरण हो । सरकारले यसको विरोध गरी भारतीय सरकार र नेपाल स्थित दुताबासलाई लिखित जानकारी नै दिएको छ । बैशाख ३१ गते लिपुलेकबाट आठ कि.मि. वरको छाङ्रुमा सशस्त्रको सुरक्षा पोस्ट राखिसकेको छ । वार्ताका लागि दवाव दिन राष्ट्रिय शक्तिबीच सर्वदलीय भेला पनि सम्पन्न गरिसकेको छ । यसैकारण आजका यी गतिविधि, काम र लिएको अडानमाथि आशावादी हुनैपर्छ । 

अन्त्यमा सीमामात्र होइन अर्थतन्त्र, संस्कृति र जीवनशैलीमा हुन थालेको अतिक्रमणका विरुद्ध सङ्घर्ष गरी आत्मनिर्भर र मौलिक स्वरूपमा नेपाललाई फर्काउनुपर्छ । सरकारले यसको नेतृत्व गर्नुपर्छ भने राष्ट्रिय शक्ति एकमतले साथ दिनुपर्छ । यस दिशामा नेपाली राष्ट्रवादी स्वर एउटै लयमा घन्कनुपर्छ ।