२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फूलका बाेट हेर्दा व्यवसायीका आँखा रसाउँछन्, हेरौं यी तस्वीरहरु



अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि लकडाउन लागू भएपछि पुष्प व्यवसाय पनि प्रभावित भएको छ । बजार पूर्ण रुपमा बन्द छ । कुनैपनि औपचारिक कार्यक्रमहरु भएका छैनन् । जसले गर्दा फुलको माग शुन्य छ । फुलको माग नै नभएपछि अहिले यस क्षेत्रमा दैनिक १ करोड रुपैयाँ भन्दा बढी नोक्सानी भएको छ । 

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको अवधि झण्डै दुई महिना पुगेको छ । लामो समय लकडाउन हुँदा उद्योग व्यवसाय ठप्प छन् । पर्यटन क्षेत्र, उत्पादन क्षेत्र, सेवा क्षेत्र, कृषि क्षेत्र सबै बन्द छन् । कृषिमा पनि पुष्प व्यवसायमा सबैभन्दा धेरै असर परेको छ । दुई महिना यता फुल विक्री नभएको पुष्प व्यवसायीहरु बताउँछन् । बजारमा फुलको माग नै नभएपछि दैनिक १ करोड रुपैयाँ भन्दा बढीको नोक्सानी भइराखेको फ्ल्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताउनुभयो । उहाँले कोरोना भाइरसको असर देखिन थाले देखि नै औपचारिक कार्यक्रम नभएको र सरकारले कुनैपनि कार्यक्रम नगर्न भनेपछि गत फागुन महिना देखि नै फुलको माग घटेको बताउनुभयो । भ्रमण वर्ष २०२० लाई समेत मध्यनजर गरी यस वर्ष फुलको उत्पादन बढाउन लगानी वृद्धि भएको थियो । फुलको उत्पादन पनि बढेको छ । तर बजार नहुँदा सबै उत्पादन खेर गइरहेको छ । अध्यक्ष कसजुले तीन महिनाको उत्पादन पूर्ण रुपमा क्षति भएको बताउनुभयो ।

६ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी लगानी रहेको यस क्षेत्रमा बैंकबाट ऋण लिएर व्यवसाय गर्नेहरु धेरै छन् । अध्यक्ष कसजुले व्यवसाय नै ठप्प भएपछि बैंकले समेत सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले ऋण उठाउने समय अवधिलाई एक वर्ष थप्नु पर्ने, व्यवसायलाई बचाउनका लागि पुर्नकर्जाको व्यवस्था हुनुपर्ने बताउनुभयो । सरकारले पनि तत्कालिन रुपमा व्यवसायलाई पुनः सुचारु गर्न राहत दिनुपर्ने र दिर्घकालिन रुपमा पनि संकट आउन नदिन सहयोग गर्नुपर्ने अध्यक्ष कसजुले बताउनुभयो । यस्तै लकडाउन लम्बिदै गएपछि नर्सरीमा काम गर्ने श्रमिकहरु पनि बेरोजगार बनेका छन् । तरपनि पुष्प व्यवसायीहरुले आफ्नो दायित्व भने पुरा गरेका छन् । नर्सरीको सम्पर्कमा रहेका सबै श्रमिकहरुलाई समयमै तलब दिने व्यवस्था मिलाइएको अध्यक्ष कसजुले बताउनुभयो । उहाँले फ्ल्लोरिकल्चर एसोसिएसनमा आवद्ध भएका सबै नर्सरीहरुले समयमै तलब दिएको र कसैले दिन नसक्ने अवस्था भए संघको पहलमा राहतको व्यवस्था मिलाइएको बताउनुभयो ।

पुष्प व्यवसायमा पनि कट फ्लावर व्यवसायमा सत प्रतिशत क्षति भएको व्यवसायीहरु बताउँछन् । विक्रीका लागि तयार भएको कट फ्लावरले बजार पाउन नसक्दा पूर्ण रुपमा नष्ट भएको छ । देशभर ४३ जिल्लामा १ हजार भन्दा बढी पुष्प व्यवसायीहरु रहेका छन । फ्लोरिकल्चर एसोसिएसन नेपालमा ७ सय बढी व्यवसायी आवद्ध छन् । त्यस्तै देशभर प्रतक्ष अप्रतक्ष रुपमा ४३ हजार भन्दा बढीले रोजगारी पाएका छन् । पुष्प व्यवसायमा देशभर ६ अर्ब रुपैयाँ भन्दा बढी लगानी भएको व्यवसायीहरु बताउँछन् । लकडाउनका कारण बजार बन्द भएपछि फुलको माग घटेको छ र यसबाट व्यवसायीहरुलाई करोडौं नोक्सानी भएको छ । लकडाउन अझै बढ्दै जाँदा यस्तो नोक्सानी अर्बौ रुपैयाँ सम्म पुग्ने व्यवसायीहरु बताउँछन् । लकडाउन खुलेपछि व्यवसायलाई फेरी सुचारु गर्न अभाव हुने पूँजीको व्यवस्थापनामा सरकारले सहयोग गर्ने अपेक्षामा व्यवसायीहरु छन् ।