२९ भाद्र २०८३, सोमबार
,
Latest
देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी



अ+ अ-

काठमाडौं । उत्तर कोरियाले क्षेप्यास्त्र, तोपखाना र ड्रोनसहित संयुक्त प्रत्यक्ष गोलीबारी अभ्यास गरी ‘विशाल विनाशकारी शक्ति’ प्रदर्शन गरेको दाबी गरेको छ ।

दक्षिण कोरियासँगको सैन्य अभ्यास घटाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयका बाबजुद उत्तर कोरियाले सैन्य परीक्षण तीव्र पारेको विज्ञहरूले बताएका छन् ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) का अनुसार शनिबारको अभ्यास एकीकृत हतियार नियन्त्रण प्रणालीको क्षमता परीक्षणमा केन्द्रित थियो । दक्षिण कोरियाली सेनाले सोही दिन वोनसन क्षेत्रबाट छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण भएको र त्यो पूर्वी समुद्रतर्फ करिब २५० किलोमिटर उडेको बताएको छ ।

अभ्यासको निरीक्षणपछि उत्तर कोरियाली मार्सल पाक जोङ चोनले एकीकृत हतियार प्रणालीले ठूलो स्तरमा एकीकृत रूपमा प्रहार गर्न सक्ने क्षमता देखाएको बताउनुभएको छ । उत्तर कोरियाले गरेका हतियार परीक्षणसम्बन्धी दाबी भने स्वतन्त्र रूपमा पुष्टि गर्न कठिन हुने गरेको छ ।

अमेरिका, दक्षिण कोरिया र जापानको संयुक्त सैन्य अभ्यास सकिएको एक दिनपछि उत्तर कोरियाले उक्त अभ्यास गरेको हो । गत अगस्टमा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग सम्बन्ध सुधार गर्ने प्रयासस्वरूप दक्षिण कोरियासँगको प्रमुख सैन्य अभ्यास उल्लेख्य रूपमा घटाउन निर्देशन दिनुभएको थियो ।

उत्तर कोरियाले अभ्यासको अवधि घटाउँदैमा त्यसको ‘उत्तेजक र आक्रामक प्रकृति’ नबदलिने भन्दै प्रस्ताव अस्वीकार गरेको थियो । विज्ञहरूका अनुसार आणविक हतियार भण्डार बढ्दै जानु तथा रूस र चीनसँग सम्बन्ध गहिरिनुले किमलाई अमेरिकासँग सम्भावित वार्तामा विगतको तुलनामा बलियो बनाएको छ ।

किमले यस वर्ष अमेरिकाले उत्तर कोरियाप्रतिको ‘शत्रुतापूर्ण नीति’ त्यागी आफ्नो देशको आणविक राष्ट्रको हैसियत सम्मान गरे वार्तामा फर्कन सकिने बताउनुभएको थियो ।