काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जिल्ला र स्थानीय तहहरूको अधिवेशन गराउन नेताहरूलाई केन्द्रीय पर्यवेक्षक तोकेको छ ।
बिहीबार पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै पार्टीको जिल्ला स्थानीय तहहरूको अधिवेशनलाई व्यवस्थित, मर्यादित र विवादरहित ढङ्गबाट निर्धारित समयभित्रै सम्पन्न गर्नका लागि जिल्लाहरूमा केन्द्रीय पर्यवेक्षक तोकेको जानकारी दिएका हुन् ।
पार्टीको विधान र केन्द्रीय कार्यसम्पादन समितिको निर्णय अनुसार पर्यवेक्षक तोकिएको उनले बताए । यस्तै पर्यवेक्षकहरुलाई जिल्ला कार्य समिति, सम्बन्धित जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी, सदस्य तथा प्रदेश पदाधिकारीहरूसँग सम्पर्क र समन्वय गरी जिल्ला अधिवेशनको वातावरण बनाउन, अनुगमन र सहयोग गर्न, भ्रष्टाचार विरुद्धको कार्यक्रम गर्न, गराउन, आगामी आन्दोलनको तयारी गर्न, पार्टी प्रवेश कार्यक्रमलाई अभियानको रूपमा सञ्चालन गर्न, गराउन आवश्यक सहजीकरण र समन्वय गर्न जिम्मेवारी प्रदान गरिएको उनले बताए ।











