७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुर–लेगुवा  सडक :  भत्किएका ठाउँमा टालिएको कालोपत्र नै उप्कियो



File Photo
अ+ अ-

भोजपुर । भोजपुरलाई बाह्य जिल्लासँग जोड्ने मुख्य मार्ग भोजपुर–लेगुवा ६६ किलोमिटर सडक मर्मत भइरहेको छ ।

विगतमा कालोपत्र भएको सडकमा खाल्डाखुल्डी परेपछि यहाँ मर्मत गरिएको हो । तर, भत्किएको ठाउँमा टालिएको कालोपत्र काम गर्ने चरणमा नै भत्किएपछि स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।

सडक डिभिजन कार्यालय तुम्लिङटार मातहत भइरहेको काम गुणस्तरहीन  रहेको स्थानीयवासीको आरोप छ । टालिएको सडक मर्मतकै क्रममा उप्किएको स्थानीयवासी सरबहादुर श्रेष्ठले बताउनुभयो । सडक मर्मतको काम गुणस्तरीय नदेखिएको उहाँको भनाइ छ ।

“सडकको खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “खाल्डा पुरिएको ठाउँ भत्किएर उस्तै अवस्थामा छ । सडक मर्मतको काम गुणस्तरीय ढङ्गले भएजस्तो हामीलाई लाग्दैन ।

पुरिएका खाल्डा एक/दुई महिना नहुँदै भत्किएका छन् । यो कामको अनुगमन हुनु पर्‍यो ।” यो सडक खण्डमा विभिन्न ठाउँमा खाल्डा परेर सवारी आवतजावतमा जोखिम बढेपछि सडक टाल्ने काम गरिएको हो ।

टालिएको सडक पुन: भत्किएपछि स्थानीयले उक्त काम सन्तोषजनक नरहेको बताएका छन् । सडक मर्मतको कामको गुणस्तरीयतामा ध्यान दिन नियमित अनुगमन गर्नुपर्ने स्थानीयको माग छ ।

सडक मर्मत राम्रो नहुँदा खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम बढेको स्थानीयले बताउने गरेका छन् । रासस