७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा

मूर्तिमा जीवन भर्ने प्रेमको सङ्घर्ष

मूर्तिमा जीवन भर्ने प्रेमको सङ्घर्ष
अ+ अ-

कञ्चनपुर । बेदकोट नगरपालिका–३ दैजीका ५७ वर्षीय प्रेम टमटा मूर्तिकारका रूपमा सुदूरपश्चिममै चिनिन्छन् । दुई दशकभन्दा बढी समयदेखि उहाँले तामा, पित्तल, काठ, सिमेन्ट र ढुङ्गा प्रयोग गरी सैकडौँ मूर्ति बनाइसक्नुभएको छ ।

उहाँलाई अधिकांशले प्रेम मूर्तिकार भनेर चिन्ने गर्छन् । सीप, परिश्रम र प्रतिबद्धताले उहाँको जीवन हिजोको गरिबीबाट आजको सम्मानसम्म ल्याएको छ ।

तर सुविधाको कमीले उहाँको सृजनात्मक उचाइ अझै थुनिएको छ । बिहानै मोटरसाइकल चढेर मूर्ति बनाउन जाने र साँझ अबेर फर्कने उहाँको दिनचर्या रहेको छ । श्रीमतीसहित दुवै जना मिलेर एकसाथ यो कार्यमा संलग्न हुनुहुन्छ ।

उहाँले बनाएका मूर्तिमा शिव, पार्वती, नन्दी, हनुमान, कालिका, हात्ती, बाह्रसिङ्गा, सहिदका सालिकलगायत छन् । एक मूर्ति बनाउनका लागि १० देखि २५ दिनसम्म लाग्ने गरेको उहाँ बताउनुहुन्छ ।

प्रेमले भन्नुभयो, “मूर्तिअनुसार पारिश्रमिक लिन्छु, सामान्य मूर्तिका लागि कम र श्रम बढी लागेको मूर्ति बनाउँदा बढी रकम लिन्छु, तर काम निरन्तर नपाइँदा थोरै कमाइ भएका बेला परिवारको खर्च धान्न मुस्किल हुन्छ ।”

उहाँको वार्षिक आम्दानी करिब रु पाँच लाख जति छ । यो आम्दानीबाट उहाँले दैजीमा दुई कठ्ठा जमिन किनेर पक्की घर बनाइसकेका छन् । परिवारमा दुई छोरा, एक छोरी, श्रीमती र दुई नाति गरी सात जना छन् । छोराछोरीको विवाह पनि त्यही आम्दानीबाट गर्नुभएको हो ।

तर सबै कुरा सहज छैन । उहाँले हालसम्म आर्थिक अभावले पित्तल र अन्य धातु पगाल्ने मेसिन, रङरोगन गर्ने उपकरण खरिद गर्न सक्नुभएको छैन । मूर्ति बनाउँदा पाएको पारिश्रमिक घर खर्चमै सकिने भएकाले उहाँले मेसिन खरिद गर्न नपाउनु भएको हो । उहाँ अहिले पनि सबै मूर्ति हातैले बनाउनुहुन्छ । पित्तल पगाल्ने, रङरोगन गर्ने विद्युत् मेसिन नहुँदा समय र श्रम बढी लाग्ने उहाँ बताउनुहुन्छ ।

हातैले मूर्ति बनाउन धेरै समय र मेहनत लाग्छ । मेसिनले काम सजिलो र गुणस्तरीय बनाउन सहयोग पुर्याउने प्रेम बताउनुहुन्छ । नगरपालिकालाई मेसिन अनुदानमा उपलब्ध गराउन आग्रह गरिरहँदा पनि अहिलेसम्म सहयोग नपाएको उहाँको गुनासो छ ।

उहाँको इच्छा छ, मेसिन पाएमा इच्छुक युवाहरूलाई नि:शुल्क मूर्ति बनाउने कला सिकाउने । “हातैले काम गर्न युवाहरू इच्छुक छैनन्”, उहाँले भन्नुभयो, “यदि मेसिन भए काम सिकाउन सजिलो हुन्थ्यो र युवा स्वरोजगारमा लाग्ने थिए ।” उहाँका छोरा पनि मूर्तिकार बन्न चाहन्थे, मेसिन नहुँदा हातैले काम गर्न इच्छुक भएनन्, त्यही भएर हाल भारतमा मजदुरी गर्दैछन् ।

प्रेमले मूर्ति बनाउने कार्यमा वर्षमा २० जना जति श्रमिकलाई काम दिने गर्नुभएको छ । मेसिन पाए त्यो सङ्ख्या झन् बढ्ने उहाँ बताउनुहुन्छ । मूर्ति बनाउने क्रममा स्थानीय युवालाई रोजगारी दिन पाएकामा भने उहाँ खुसी व्यक्त गर्नुहुन्छ । उहाँले नेपालका विभिन्न ठाउँ अछाम, बझाङ, बाजुरा, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र काठमाडौँसम्म गएर मूर्ति बनाउनुभएको छ ।

युवावस्थामा घरमा काम नहुँदा प्रेम डडेल्धुराको डुँगरी गाउँबाट कसैलाई नभनी भारतको राजस्थान पुग्नुभएका टमटा त्यहाँ १६ वर्षसम्म मूर्ति बनाउने कारिगरसँग मजदुरका रूपमा काम गर्दै सीप सिकेर फर्कनुभएको हो । “सुरूमा गाली खाँदै काम गरेँ, ढुङ्गा काँधमा बोकेर कारिगरको पछिपछि हिँडे”, उहाँ सम्झनुहुन्छ, “तर पछि आफैँ मूर्ति बनाउन सक्षम भएँ, यतिबेला भने स्वदेश फर्केर आफ्नै पहिचान बनाउने हुटहुटी लागेपछि घर फिर्ता भएँ ।”

भारतबाट फर्किएपछि उहाँले गाउँमै मूर्तिकला सुरू गर्नुभयो । अहिले उहाँ शिव, पार्वती, हनुमान, नन्दी, कालिका, हात्ती, बाह्रसिङ्गा, सहिद सालिक, काठका धार्मिक स्तम्भजस्ता मूर्तिहरू बनाउनुहुन्छ । कैलालीको धार्मिक क्षेत्र गोदावरीमा रहेको विशाल हनुमानको मूर्ति उहाँकै निर्माण हो । जुन बनाउन पूरा एक वर्ष लागेको थियो ।

प्रेमले बनाउनुभएका मूर्तिले दर्जनौँ मन्दिरको शोभा बढाइरहेका छन् । “सीप छ, मेहनत छ, तर राज्यको सहकार्य र प्रविधिको अभावले हामी अझै अघि बढ्न सकिरहेका छैनौँ”, उहाँ भन्नुहुन्छ । दलित समुदायको व्यक्ति भएकाले आफैँले बनाएका मूर्तिको पूजा गर्न मन्दिर जान नपाउँदा भने उहाँ असन्तुष्टि पोख्नुहुन्छ ।

प्रेमका श्रीमती लक्ष्मीले भन्नुभयो, “हामीले बनाएको मूर्ति मन्दिरमा पूजा हुन्छ, तर हामीलाई त्यहाँ जान दिइँदैन, यो अपमान हो ।” छुवाछूतको यो व्यवहारले सामाजिक सद्भावलाई पनि चोट पुर्याएको उहाँ बताउनुहुन्छ । रासस