२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन News Polar नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल News Polar तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारकाे निर्णय News Polar थापाले बन्द सत्र समापनमा घोषणा गर्दै भने : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन News Polar खगेन्द्र सुनारले भने– ‘ममाथि लागेका सबै आरोपको निष्पक्ष छानबिन गरियोस्’ News Polar निर्वाचन प्रहरीको पोशाक खरिदबारे राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर अध्ययन गर्छौँ : ओली News Polar प्रहरीको पोशाक खरिद अध्ययन उपसमितिले पारित गर्‍यो १९ बुँदे कार्यविधि News Polar कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान News Polar मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा भएको अवसरमा रवि लामिछानेद्वारा बधाई News Polar उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक विषयक प्रतिवेदन पारित News Polar महामन्त्री गुरुराज घिमिरेको प्रतिवेदन महाधिवेशनबाट पारित News Polar कांग्रेस महाधिवेशन : कोषाध्यक्ष श्रेष्ठको आर्थिक प्रतिवेदन पारित News Polar मन्त्रिपरिषद्को बैठक जारी News Polar सन् २०३० सम्म मानव रेबिज मृत्यु शून्यमा झार्ने सरकारको लक्ष्य

बीपी कोइरालाको आज ४३औँ स्मृति दिवस मनाइँदै

बीपी कोइरालाको आज ४३औँ स्मृति दिवस मनाइँदै
बिपी कोइराला / फाइल तस्बिर
अ अ+ अ-

काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको छ । कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि विसं २०१६ जेठमा उहाँ पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो ।

नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उहाँका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’ र ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । उहाँका दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’ प्रकाशित छन् ।

वरिष्ठ अधिवक्ता स्व गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त, सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिइ स्वदेश फर्केपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सिधैँ सुन्दरीजल बन्दीगृहमा लगिएपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेको छ । ज्ञाननिष्ठ ज्ञवालीको सम्पादनमा प्रकाशित सिसार पत्रिकामा ‘साहित्यमा प्रगतिशीलता’ विषयक कोइरालाको निबन्धलगायत रचना पनि प्रकाशित छन् ।

जीवनको लामो समयसम्म कांग्रेसको नेतृत्व गरी २०१५ सालको आमनिर्वाचनमा पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभयो । प्रधानमन्त्रीत्वकालमा उहाँले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाउनुभयो ।

विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएको थियो ।

विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त हुनुभएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनुभएको थियो । भारतमा निर्वासित भएर प्रजातन्त्र पुन:स्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको प्रर्वाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ उहाँ स्वदेश फर्कनुभएको थियो । उहाँले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ ।

प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले स्वतन्त्र रूपमा चिन्तन, आयाम, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पुर्‍याउन योगदान दिनुभयो । प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री, संसद्का सभामुख एवं मन्त्रीहरूलाई बन्दी बनाइएको सुन्दरीजल बन्दी गृहलाई विसं २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयका रुपमा उद्घाटन गरियो । बिपीको जीवनका महत्वपूर्ण चीजबीजको सङ्कलन गरी दर्शनीय बनाइएको सङ्ग्रहालय २०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भई हाल पुन:निर्माण गरिएको छ ।

सङ्ग्रहालयमा बिपीको जीवनका महत्वपूर्ण सामग्रीका साथै २००७ सालको क्रान्तिमा प्रयोग गरिएको ट्याङ्कर, कांग्रेसले २०२९ सालमा क्रान्तिलाई खर्च जुटाउन अपहरण गरेको नेपाल वायुसेवा निगमको विमान पनि राखिएको छ । बिपी स्मृति दिवसका अवसरमा कांग्रेस, भ्रातृ संस्था र बिपी सङ्ग्रहालय समितिले मुलुकभर विभिन्न कार्यक्रम गर्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो ।

यस अवसरमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिपी कोइराला राष्ट्रिय पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको पुरातत्व अधिकृत भीष्म बाँस्कोटाले राससलाई जानकारी दिनुभयो ।