काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति गरी प्यारापिट बनाउने र फ्लडलाइट हाल्ने काम समयमै नसकिएपछि ठेकेदार कम्पनीलाई जरिवाना लगाईएको छ ।
तोकिएको मितिमा पनि काम सम्पन्न नभएपछि ठेकेदार कम्पनीलाई पूर्ववत् सम्झौता अनुसार हर्जाना लगाइएको हो ।
सहरी विकास मन्त्रालयको अनुसार ठेकेदार कम्पनीलाई सम्झौता अनुसार योजनाको कुल रकमको शून्य दशमलव शून्य ५ प्रतिशत दैनिक हर्जाना लगाईएको छ । जुन दैनिक २ लाखभन्दा बढी हुन्छ ।
मैदानको प्यारापिट बनाउन बीकेओआई केसीडीसी बीजीको ज्वाइन्ट भेन्चर कम्पनी (जेभी) र फ्लडलाइट जडानका लागि विशन ईश्वरी जेभीले ठेक्का पाएको थियो । संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयको अनुसार प्यारापिट बनाउन ४९ करोड २५ लाख रुपैयाँ र फ्लडलाइट जडानका लागि ४७ करोड ३७ लाख रुपैयाँमा सम्झौता भएको छ ।










