काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
७८ लाख घुस प्रकरणमा मुछिएका उनले मंगलबार राजीनामा दिएका हुन् ।
केही दिनअघि भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति साथै कर्मचारीको सरुवाका लागि भन्दै बिचौलिया र मन्त्री गुप्ताबीच घुस बार्गेनिङ भएको अडिओ सार्वजनिक भएको थियो ।
उनले आफूमाथि लागेको आरोपबारे अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर प्रधानमन्त्री केपी ओलीसमक्ष राजीनामा बुझाइसकेको बताए ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘विगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई विदितै छ । कहिले काहीँ नखाएको विष पनि लाग्दो रहेछ । म अहिले त्यसैको सिकार भएँ । अब लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा गरेको छु ।’










