६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय सदस्य अजयबाबुले भने, केन्द्रीय समिति बैठक भ्रष्टाचारका आरोपितले विषवमन गर्ने थलो नबनोस्



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले केन्द्रीय समिति बैठक भ्रष्टाचारका आरोपितले विषवमन गर्ने थलो बनाउन नहुने बताएका छन् ।

पार्टी कार्यालय सानेपामा चार दिनदेखि जारी केन्द्रीय समितिको बैठकमा सिवाकोटीले केन्द्रीय समितिको बैठकमा भ्रष्टाचारका आरोपितले विषवमन गर्दा अरु टुलुटुल हेर्ने अवस्था आएको बताएका हुन् । उनले भ्रष्टाचारका आरोपितले पार्टीको भूमिकाबाट अलग हुनुपर्ने समेत बताए ।

पूर्वमन्त्री मोहन बस्नेतप्रति संकेत गर्दै उनले भ्रष्टाचारको मुद्दाको आरोपित भएर संसदले निलम्बन गरेका व्यक्ति पार्टीको भूमिकामा रहेर ठूला कुरा गर्न नसुहाउने बताए । पार्टीबाट अलग बसेर बस्नुको साटो केन्द्रीय समितिमा थप समय लिएर तथ्यहीन बोलेको उनको आरोप थियो ।

बैठकमा उनले भने– ‘प्रधानमन्त्री र स्वयम् पार्टी सभापति, संवैधानिक अंगका प्रमुख तथा पदाधिकारीहरू र विशेषगरी पार्टीका महामन्त्री विरुद्ध विषवमन गर्दा त्यसलाई टुलुटुलु हेरेर हामीले कस्तो नजिर स्थापित गर्न खोजेका हौं ? ।’ उनले अगाडि भने– ‘कांग्रेसमा मर्यादा, अनुशासन, पदीय गरिमा भन्ने कुरा हुन्छ कि हुँदैन ?’

केन्द्रीय सदस्य सिवाकोटी महामन्त्री गगन थापा निकट हुन् । बुधबारको बैठकमा पूर्वमन्त्री बस्नेतले महामन्त्री गगन थापाविरुद्ध आक्रामक टिप्पणी गरेका थिए । उनले आफूलाई अख्तियारले मुद्दा चलाउनमा महामन्त्री थापाको पनि भूमिका रहेको आशयसहितको अभिव्यक्ति दिएका थिए ।