२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत–चीन तनावः मेजर जर्नेल तहको वार्ता सकारात्मक भयो



अ+ अ-

नयाँदिल्ली । लद्दाख क्षेत्रमा सोमबार भएको हिंसात्मक झडपपछि सिर्जित तनाव कम गर्न भारत र चीनबीच बिहीबार भएको मेजर जर्नेल तहको वार्ता सकारात्मक रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो वार्ता बुधबार पनि भएको थियो । तर, बुधबारको तीन घण्टा लामो वार्ता बिनाकुनै सहमति टुंगिएको थियो । त्यसपछि बिहीबार फेरि दुवै पक्ष वार्तामा बसेका थिए । बिहीबारको वार्ता भने सकारात्मक दिशामा अघि बढेको सैनिक स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । सोमबारको घटनापछि भारतमा चिनियाँ उत्पादन र लगानी बहिष्कार गर्नुपर्ने माग चर्को रूपमा उठेको छ । बिहीबार मात्र भारतीय रेलवेले चिनियाँ कम्पनीले पाइसकेको भारु ४७१ करोडको ठेक्का तोड्ने निर्णय गरेको छ ।

बुधबार भारतको केन्द्र सरकारले मोबाइल सेवा प्रदाय कम्पनी भारतीय सञ्चार निगम (बीएसएनएल) लाई फोरजी प्रविधि जडानका लागि चिनियाँ उपकरण उपयोग नगर्न निर्देशन दिएको थियो । बीएसएनएल भारत सरकारको स्वामित्व भएको कम्पनी हो । पूर्वी लद्दाखको गलवान उपत्यकामा सोमबार करिब पाँच घण्टासम्म भारतीय र चिनियाँ सैनिकबीच भएको झडपमा परी एक अधिकृतसहित बीस भारतीय सैनिकको ज्यान गएको थियो । भारतीय पक्षले झडपमा चीनतर्फ पनि ठूलो संख्यामा हताहत भएको दाबी गरे पनि त्यसको पुष्टि भएको छैन । केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि दुवैतर्फ ठूलो संख्यामा मानवीय क्षतिको उल्लेख गरेका थिए ।

तर, त्यसको दुई दिनपछि दुवै पक्षले राजनीतिक र सैन्य तहमा संवादलाई अगाडि बढाएका छन् । बुधबार भारतीय विदेशमन्त्री एस जयशंकरले चिनियाँ समकक्षी वाङ यीसँग पनि टेलिफोन कुराकानी गरेका थिए । दुवै पक्षले टेलिफोन कुराकानी घटनालाई लिएर एकअर्कालाई दोषारोपण गरेका थिए । त्यसैगरी मेजरल जनरल तहको वार्तालाई सुरु गरिएको थियो । तर, उक्त वार्ता बिनानिष्कर्ष टुंगिएको थियो । यसैबीच लद्दाख घटनामा भारतीय सेनातर्फ भएको मानवीय क्षतिलाई लिएर राजनीतिक दलहरूबीच आरोपप्रत्यारोप सुरु भएको छ । विपक्षी भारतीय राष्ट्रिय कंग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीले भारतीय सैनिकको ज्यान जानुमा लापरबाही भएको भन्दै सरकारको आलोचना गरेका छन् ।

उनले बिहीबार ट्वीटरमा एउटा भिडियोमार्फत बिनाहतियार ड्युटीमा खटाइएका कारण भारतीय सैनिकहरूको ज्यान गएको दाबी गरेका छन् । विदेशमन्त्री एस जयशंकरले त्यसको जवाफमा ट्वीटमार्फत ड्युटीमा खटिएका सैनिकहरू सधैँ हतियारले सुसज्जित रहने हुँदा तथ्यमा आधारित हुन गान्धीलाई भनेका छन् । कान्तिपुर दैनिक