काठमाडौं । नेपाल हस्तकला व्यवसायी महासंघले नेपालमा हस्तकला व्यवसायको विकास, विस्तार तथा संरक्षणका लागि सरकारसँग सहकार्य गर्न आफूहरू तयार रहेको जनाएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हस्तकला व्यवसायी महासंघका प्रतिनिधिहरूसँग गरेको छलफलमा महासंघका प्रतिनिधिहरूले वर्तमान सरकारले हस्तकला व्यवसायलाई प्राथमिकता दिएको आफूहरूले महसुस गरेको भन्दै सरकारसँग आवश्यक सबै प्रकारको सहकार्य गर्न तयार रहेको बताएका हुन्।
छलफलका क्रममा प्रधानमन्त्री शाहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, परम्परागत कला तथा सीपको संरक्षण, रोजगारी सिर्जना र पुस्तान्तरणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
महासंघका पदाधिकारीहरूले निजी–सरकारी साझेदारी (पीपीपी) मोडलमा हस्तकला विकास बोर्ड गठन गर्नुपर्ने माग राखेका थिए। उक्त मागप्रति प्रधानमन्त्री शाह सकारात्मक देखिनुभएको छ।
महासंघले हालसम्म आफ्नै पहलमा मंसिर २८ गते हस्तकला दिवस मनाउँदै आएको भन्दै अब उक्त दिवसलाई राष्ट्रिय स्तरमा मनाउनुपर्ने मागसमेत गरेको थियो। प्रधानमन्त्री शाहले हस्तकला दिवस राष्ट्रिय रूपमा मनाउने विषयमा तत्काल गृह मन्त्रालयसँग समन्वय गर्न आफ्नो सचिवालयलाई निर्देशन दिनुभएको छ।
त्यस्तै, हस्तकला सामग्री निर्यात गर्दा हाल स्वघोषणाका आधारमा भइरहेको प्रक्रियाको सट्टा बिजक मूल्यांकन अनिवार्य गर्नुपर्ने महासंघको सुझावप्रति पनि प्रधानमन्त्री शाह सकारात्मक हुनुभएको छ। यसबाट राजस्व वृद्धिमा समेत सहयोग पुग्ने महासंघको भनाइ छ।
हस्तकला सामग्री निर्यातबापत पाउनुपर्ने पाँच प्रतिशत रकम तीन वर्षदेखि रोकिएको विषयमा पनि प्रधानमन्त्री शाहले उक्त रकम पुनः उपलब्ध गराउने व्यवस्था निरन्तरता दिने आश्वासन दिनुभएको महासंघले जनाएको छ।
हस्तकलाका वस्तु उत्पादन तथा विकासका लागि उद्योग विभागअन्तर्गत निर्माण सम्पन्न भएको सार्क हस्तकला विकास केन्द्रको भवनमा हाल कम्पनी रजिस्ट्रारको कार्यालय रहेको भन्दै उक्त भवन हस्तकला क्षेत्रकै प्रयोजनमा फिर्ता गर्न महासंघले माग गरेको थियो। प्रधानमन्त्री शाहले सोहीअनुसार आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
यसैगरी, काठमाडौं उपत्यकामा हस्तकला ग्राम स्थापना गर्ने तथा सातै प्रदेशमा हस्तकला सीपसम्बन्धी प्रशिक्षण केन्द्र स्थापना गर्ने विषयमा पनि प्रधानमन्त्री शाहले विशेष चासो देखाउनुभएको छ। निर्माण व्यवसायीसँगको सहकार्यमा कलात्मक संरचना निर्माणका लागि दुई पक्षबीच सम्झौता गराउन महासंघले गरेको अनुरोधमा पनि प्रधानमन्त्री शाह सकारात्मक हुनुभएको बताइएको छ।
महासंघका पदाधिकारीहरूले परम्परागत सीप र कलाको संरक्षण तथा हस्तकलाकर्मीलाई परिचयपत्रको व्यवस्था गर्नुपर्नेलगायत विभिन्न मागसमेत राखेका थिए।
छलफलमा महासंघका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकास रत्न ढाक्वा तथा शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठको सहभागिता थियो।











