काठमाडौँ । तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारीको ७४औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ । यसै अवसरमा मदन भण्डारी फाउन्डेशनको आयोजनामा काठमाडौंमा कार्यक्रम आयोजना गरिएको छ ।
राष्ट्रिय सभा गृहमा जारी ‘जबजका तीन दशक’ विषयक अन्तरक्रिया कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुनुहुन्छ ।
यस्तै, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि सहभागी हुनुहुन्छ ।
एमालेले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)लाई पार्टीको सिद्धान्त बनाएको छ । एमालेले पाँचौँ राष्ट्रिय महाधिवेशनवाट जबजलाई नेपाली क्रान्तिको मौलिक कार्यक्रमका रूपमा पारित गर्दै सिद्धान्त बनाएको हो ।
मदन भण्डारी २०४६ सालमा भएको नेकपा (माले)को चौथो महाधिवशेन र २०४७ सालमा नेकपा (माले) र नेकपा (माक्र्सवादी)बीच एकता भई नेकपा (एमाले) पनि महासचिव बन्नुभएको थियो ।
यस्तै एमालेको २०४९ सालमा भएको पाँचौँ महाधिवेशनबाट पनि उहाँ महासचिवमा चुनिनुभएको हो । मदन भण्डारी २०४८ सालका संसदीय निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको थियो ।
विसं २००९ असार १४ गते ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोराका रूपमा जन्मिनुभएको भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटना हुँदा निधन भएको थियो ।











