१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख



अ+ अ-

झापा। पूर्वी नेपालको प्रमुख माछा उत्पादन क्षेत्र झापामा व्यावसायिक माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख भएको छ। उत्पादन बढाउनेभन्दा व्यवसाय जोगाउने चिन्ता बढ्दै गएको भन्दै किसानहरूले सरकारसँग तत्काल उत्पादनमैत्री नीति ल्याउन माग गरेका छन्।

विद्युत् महसुलमा वृद्धि, माछाको दाना, औषधि तथा श्रम खर्च महँगिँदै जानु, प्रभावकारी बजार व्यवस्थापनको अभाव र भारतबाट हुने अवैध एवम् सस्तो आयातित माछासँगको असमान प्रतिस्पर्धाले माछापालन व्यवसाय दबाबमा परेको किसानहरूको भनाइ छ।

नेपाल मत्स्य विकास सङ्घका केन्द्रीय उपाध्यक्ष लक्ष्मी शिवाकोटीका अनुसार माछापालन कृषि व्यवसाय भए पनि व्यवहारमा उद्योगसरहको लागत र महसुलको भार किसानले व्यहोर्नुपरेको छ। विद्युत् महसुल, दाना र अन्य सामग्रीको लागत बढ्दै गए पनि उत्पादनको मूल्य सोही अनुसार नबढ्दा किसानको लगानी जोखिममा परेको धारणा उनले व्यक्त गरे।

सङ्घका अनुसार झापामा वार्षिक करिब एक हजार ५०० टन माछा उत्पादन हुने गरेको छ भने करिब २०० जना किसान व्यावसायिक माछापालनमा संलग्न छन्। लागत बढ्दै गएपछि नयाँ लगानीकर्ता आकर्षित हुन नसकेको र केही किसानले व्यवसाय विस्तारको योजना स्थगित गरेका छन्।

व्यावसायिक किसान हरिप्रसाद मैनालीले दाना, औषधि, विद्युतीय उपकरण र श्रम खर्च निरन्तर बढिरहेकाले उत्पादन लागत नियन्त्रण गर्न कठिन भएको बताए। बजारमा माग भए पनि लागत धेरै भएकाले अपेक्षित उत्पादन गर्न नसकिएकाले सरकारले प्राविधिक सहयोग र उत्पादनमैत्री नीति ल्याउनुपर्नेमा उनले जोड दिए।

अर्का किसान राजु सापकोटाले गुणस्तरीय दाना, आधुनिक प्रविधि र प्राविधिक तालिमको अभावले उत्पादन क्षमता बढाउन चुनौती थपिएको उल्लेख गर्दै प्रविधिमैत्री माछापालनलाई राज्यले प्राथमिकता दिनुपर्ने बताए।

किसानका अनुसार झापामा उत्पादन हुने माछाले पूर्वी नेपालको ठूलो बजार धान्न सक्ने क्षमता भए पनि चिस्यान भण्डारण, बजार व्यवस्थापन, मूल्य स्थिरीकरण र आयात नियन्त्रणको अभावले स्वदेशी उत्पादनले अपेक्षित लाभ लिन सकेको छैन।