२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोदारी राजमार्गमा दुई मन्त्रीको जम्बो निरीक्षण, राजमार्ग खुल्न भने अनिश्चित



अ+ अ-

काठमाडौँ। विगत ११ दिनदेखि अवरुद्ध कोदारी राजमार्ग सुचारु गर्ने प्रयासस्वरुप सरकारको एक उच्चस्तरीय टोलीले स्थलगत निरीक्षण गरेको छ ।

२०८३ साउन १० गते पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसहितको टोलीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा पर्ने डाक्लाङ र कोदारी इको क्षेत्रका पहिरो प्रभावित क्षेत्रको अवलोकन गरेको हो ।

राजमार्ग खुलाउने र स्थानीय बस्तीको जोखिम न्युनिकरण गर्ने उद्देश्यले गरिएको यस निरीक्षणका क्रममा स्थानीय बासिन्दाले भने आफ्नो थाँतथलो र घरको सुरक्षाको ग्यारेन्टी नभएसम्म काम अघि बढाउन असहमति जनाएका छन् ।

पहिरोका कारण बस्ती नै जोखिममा परेको भन्दै आक्रोशित स्थानीयलाई मन्त्री लम्सालले सरकारले बस्ती स्थानान्तरणदेखि भौतिक सम्पतीको सुरक्षाको पूर्ण जिम्मेवारी लिने आश्वासन दिनुभएको छ । यद्यपि, सरकारको यस आश्वासनप्रति स्थानीयले पूर्ण विश्वास भने व्यक्त गरिसकेका छैनन् ।

मन्त्री लम्सालले भन्नुभयो, ‘ केही समस्या छैन, हामी एकदम पोजिटिभ छौँ र हामी लागि पर्छौं’  निरीक्षणका क्रममा सडक विभागका महानिर्देशक डा. विजय जैसीकाअनुसार डाक्लाङ क्षेत्रमा रहेका तीनवटा ठूला पहिरोमध्ये पहिलो पहिरोको काम भइरहेको छ भने दोस्रो र तेस्रो पहिरोको व्यवस्थापनका लागि प्रक्रियागत ढिलाइ भएको थियो ।

महानिर्देशक जैसीले स्थानीयको आशंका निवारण गर्न विशेषज्ञ टोली परिचालन गरिसकिएको र जमिनभित्रको पानीलाई पाइपमार्फत सुरक्षित तवरले बाहिर निकाल्ने प्रविधि प्रयोग गरिने बताउनु भयो । उहाँले स्थानीयसँग समन्वय गर्न डाक्लाङ र कोदारीबाट दुई–दुई जना प्रतिनिधि तोक्न आग्रह गर्दै विशेषज्ञको सल्लाह र नागरिकको सुरक्षालाई प्राथमिकता दिएर मात्रै काम अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘चिनियाँ पक्षको संलग्नतामा अत्यन्तै बलियो र भरपर्दो डिजाइन तयार भएको छ । नदीको सतहबाटै पाइल हालेर पर्खाल उठाउने र डेढ अर्ब रुपैयाँभन्दा बढीको लागतमा कोदारी क्षेत्रको पहिरो दीर्घकालीन रूपमा समाधान गर्ने गरी ठेक्का सम्झौता भइसकेको छ ।

निरीक्षण टोलीमा योजना आयोगका सदस्य अर्जुनजंग थापा, पूर्वाधार सचिव गोपाल सिग्देल, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू र सडक विभागका इन्जिनियरहरूको सहभागिता रहेको छ ।

कोदारी राजमार्ग अन्तर्राष्ट्रिय व्यापारिक नाकासमेत भएकाले यसलाई जतिसक्दो चाँडो सञ्चालनमा ल्याउन सरकारले जोड दिएको छ । तर स्थानीयको अवरोध र भौगोलिक जटिलताका कारण राजमार्ग कहिलेसम्म पूर्ण रूपमा खुल्ने भन्ने विषय अझै निश्चित हुन सकेको छैन ।–न्युज एजेन्सी नेपाल