२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानी मै छैन क्वारेन्टिन !



अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नेपालमा पनि तीव्र रूपमा फैलिरहँदा काठमाडौं उपत्यकामै तयारी फितलो देखिएको छ । सरकारले जनजीवन सहज बनाउन बन्दाबन्दी (लकडाउन) खुकुलो बनाएसँगै सर्वसाधारण नागरिक काठमाडौं उपत्यका भित्रने क्रम बढेको छ । तर, उपत्यका भित्रनेहरूलाई स्थानीय तहले क्वारेन्टिनमा राख्ने कुनै व्यवस्था गरेका छैनन् ।काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वर डंगोल महानगरअन्तर्गत एउटा पनि क्वारेन्टिन नभएको स्वीकार गर्छन् । ‘हामीसँग एउटा पनि क्वारेन्टिन छैन, यहाँ दिनमा हजार बढी मानिस भित्रिएका छन् । एउटा वडामा सरदर ३ हजार आउने देखिन्छ, त्यसरी हेर्दा हामीलाई एक लाखभन्दा बढी अट्ने क्वारेन्टिन आवश्यक पर्छ । जनशक्ति अभावमा क्वारेन्टिन बनाउन सकिएको छैन,’ उनले भने ।

उनले प्रदेश र केन्द्र सरकारलाई आफूहरूले क्वारेन्टिन बनाउने तर त्यसको रेखदेख गर्ने जनशक्ति माग गर्दा सहयोग नपाएको गुनासो गरे । ‘हामी क्वारेन्टिन बनाउँछौं तर त्यसका लागि चाहिने चिकित्सकसहितको जनशक्ति दिन प¥यो भनेर प्रदेश र केन्द्र सरकारलाई भन्यौं । तर, केही सहयोग भएन,’ उनले भने । उनी काठमाडौं आउनेहरूलाई पिसिआर गर्ने हो भने महानगरपालिकाको बजेटले पनि नपुग्ने बताउँछन् । काठमाडौं महानगरपालिकाको मात्रै यस्तो हालत भने होइन, काठमाडौं उपत्यकाका सबै स्थानीय तहको उस्तै अवस्था छ । काठमाडौं उपत्यमा क्वारेन्टिन नभएकै कारण पछिल्लो समय कोरोना संक्रमित जिल्लाबाट उपत्यका भित्रिएकाहरू क्वारेन्टिन नबसी र कुनै परीक्षण नै नगरी आफ्नो घर कोठा पुगेर सिधै समुदायमा घुलमिल भइरहेको पाइएको छ ।यसअघि क्वारेन्टिनको अनुगमन तथा सहजीकरणको जिम्मा पाएका सहरी राज्यमन्त्री रामवीर मानन्धर बाहिरबाट काठमाडौं आएर सिधै समुदायमा घुलमिल हुँदा उपत्यकामा संक्रमणको जोखिम बढेको बताउँछन् । ‘बाहिरबाट आउनेहरूलाई कुनै पनि हालतमा १४ दिन क्वारेन्टिनमा राख्ने व्यवस्था गर्नुपर्छ । नत्र यसले ठूलो जोखिम निम्त्याउँछ,’ उनले भने ।

काठमाडौं उपत्यकाबाट बाहिरिनेले सम्बन्धित जिल्लाको स्थानीय तहले व्यवस्था गरेको क्वारेन्टिनमा अनिवार्य रूपमा १४ दिन बस्दै आएका छन् । तर, उपत्यका भित्रनेलाई क्वारेन्टिनमा बस्नपर्ने व्यवस्था छैन भने उपत्यकाका केही स्थानीय तहले केही ठाउँमा व्यवस्था गरेको क्वारेन्टिनबाहेक अन्य तहले क्वारेन्टिनको व्यवस्था गरेको पाइएको छैन । पशुपतिको धर्मशालामा एकपटकमा ७० जनाको व्यवस्थापन गर्न सकिने गरी क्वारेन्टिन बनाउने तयारी छ । त्यस्तै, भक्तपुरको कृषि तालिम केन्द्रमा ६० बेड, खरिपाटीमा एक सय ७५ बेड तथा खानेपानी तालिम केन्द्रमा ७० बेड तयारी अवस्थामा रहेको जनाइएको छ । तर, ती क्वारेन्टिन अहिले खाली छन् । हालै मात्र काठमाडौंबाट गृहजिल्ला भोजपुर पुगेका सांसद सुदन किराती १४ दिन क्वारेन्टिनमा बस्नुपरेको छ । उपत्यकाबाहिरका जिल्लामा जाने जोकोही पनि अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम छ भने त्यसपछि स्थानीय तहले आरडिटी परीक्षण गराएर मात्र घर पठाउँदै आएका छन् । तर, काठमाडौं उपत्यका जस्तो सुविधा सम्पन्न र जनघनत्व भएको ठाउँमै कुनै क्वारेन्टिन बनाइएको छैन भने परीक्षणबिनै घर तथा कोठा जान अनुमति दिएको छ ।

सरकारले क्वारेन्टिन बनाउनुको सट्टा सिधै घर पठाउन अनुमतिसमेत दिएको छ । गृह मन्त्रालयले उपत्यका बाहिरबाट काठमाडौं भित्रिएकालाई १४ दिन होम क्वारेन्टिनमा राख्न मंगलबार तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेको छ । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका बाहिरबाट आउनेलाई १४ दिनसम्म होम क्वारेन्टिनमा बस्ने र लक्षण देखिएमा मात्र अस्पताल आउने व्यवस्था गर्न गृहमा पत्र पठाएको थियो । गृहले काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई स्वास्थ्यको पत्रअनुसार कारबाही गर्न निर्देशन दिएको छ । राजधानी दैनिक