१९ माघ २०८१, शनिबार
,
Latest
चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानी मै छैन क्वारेन्टिन !



अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नेपालमा पनि तीव्र रूपमा फैलिरहँदा काठमाडौं उपत्यकामै तयारी फितलो देखिएको छ । सरकारले जनजीवन सहज बनाउन बन्दाबन्दी (लकडाउन) खुकुलो बनाएसँगै सर्वसाधारण नागरिक काठमाडौं उपत्यका भित्रने क्रम बढेको छ । तर, उपत्यका भित्रनेहरूलाई स्थानीय तहले क्वारेन्टिनमा राख्ने कुनै व्यवस्था गरेका छैनन् ।काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वर डंगोल महानगरअन्तर्गत एउटा पनि क्वारेन्टिन नभएको स्वीकार गर्छन् । ‘हामीसँग एउटा पनि क्वारेन्टिन छैन, यहाँ दिनमा हजार बढी मानिस भित्रिएका छन् । एउटा वडामा सरदर ३ हजार आउने देखिन्छ, त्यसरी हेर्दा हामीलाई एक लाखभन्दा बढी अट्ने क्वारेन्टिन आवश्यक पर्छ । जनशक्ति अभावमा क्वारेन्टिन बनाउन सकिएको छैन,’ उनले भने ।

उनले प्रदेश र केन्द्र सरकारलाई आफूहरूले क्वारेन्टिन बनाउने तर त्यसको रेखदेख गर्ने जनशक्ति माग गर्दा सहयोग नपाएको गुनासो गरे । ‘हामी क्वारेन्टिन बनाउँछौं तर त्यसका लागि चाहिने चिकित्सकसहितको जनशक्ति दिन प¥यो भनेर प्रदेश र केन्द्र सरकारलाई भन्यौं । तर, केही सहयोग भएन,’ उनले भने । उनी काठमाडौं आउनेहरूलाई पिसिआर गर्ने हो भने महानगरपालिकाको बजेटले पनि नपुग्ने बताउँछन् । काठमाडौं महानगरपालिकाको मात्रै यस्तो हालत भने होइन, काठमाडौं उपत्यकाका सबै स्थानीय तहको उस्तै अवस्था छ । काठमाडौं उपत्यमा क्वारेन्टिन नभएकै कारण पछिल्लो समय कोरोना संक्रमित जिल्लाबाट उपत्यका भित्रिएकाहरू क्वारेन्टिन नबसी र कुनै परीक्षण नै नगरी आफ्नो घर कोठा पुगेर सिधै समुदायमा घुलमिल भइरहेको पाइएको छ ।यसअघि क्वारेन्टिनको अनुगमन तथा सहजीकरणको जिम्मा पाएका सहरी राज्यमन्त्री रामवीर मानन्धर बाहिरबाट काठमाडौं आएर सिधै समुदायमा घुलमिल हुँदा उपत्यकामा संक्रमणको जोखिम बढेको बताउँछन् । ‘बाहिरबाट आउनेहरूलाई कुनै पनि हालतमा १४ दिन क्वारेन्टिनमा राख्ने व्यवस्था गर्नुपर्छ । नत्र यसले ठूलो जोखिम निम्त्याउँछ,’ उनले भने ।

काठमाडौं उपत्यकाबाट बाहिरिनेले सम्बन्धित जिल्लाको स्थानीय तहले व्यवस्था गरेको क्वारेन्टिनमा अनिवार्य रूपमा १४ दिन बस्दै आएका छन् । तर, उपत्यका भित्रनेलाई क्वारेन्टिनमा बस्नपर्ने व्यवस्था छैन भने उपत्यकाका केही स्थानीय तहले केही ठाउँमा व्यवस्था गरेको क्वारेन्टिनबाहेक अन्य तहले क्वारेन्टिनको व्यवस्था गरेको पाइएको छैन । पशुपतिको धर्मशालामा एकपटकमा ७० जनाको व्यवस्थापन गर्न सकिने गरी क्वारेन्टिन बनाउने तयारी छ । त्यस्तै, भक्तपुरको कृषि तालिम केन्द्रमा ६० बेड, खरिपाटीमा एक सय ७५ बेड तथा खानेपानी तालिम केन्द्रमा ७० बेड तयारी अवस्थामा रहेको जनाइएको छ । तर, ती क्वारेन्टिन अहिले खाली छन् । हालै मात्र काठमाडौंबाट गृहजिल्ला भोजपुर पुगेका सांसद सुदन किराती १४ दिन क्वारेन्टिनमा बस्नुपरेको छ । उपत्यकाबाहिरका जिल्लामा जाने जोकोही पनि अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम छ भने त्यसपछि स्थानीय तहले आरडिटी परीक्षण गराएर मात्र घर पठाउँदै आएका छन् । तर, काठमाडौं उपत्यका जस्तो सुविधा सम्पन्न र जनघनत्व भएको ठाउँमै कुनै क्वारेन्टिन बनाइएको छैन भने परीक्षणबिनै घर तथा कोठा जान अनुमति दिएको छ ।

सरकारले क्वारेन्टिन बनाउनुको सट्टा सिधै घर पठाउन अनुमतिसमेत दिएको छ । गृह मन्त्रालयले उपत्यका बाहिरबाट काठमाडौं भित्रिएकालाई १४ दिन होम क्वारेन्टिनमा राख्न मंगलबार तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेको छ । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका बाहिरबाट आउनेलाई १४ दिनसम्म होम क्वारेन्टिनमा बस्ने र लक्षण देखिएमा मात्र अस्पताल आउने व्यवस्था गर्न गृहमा पत्र पठाएको थियो । गृहले काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई स्वास्थ्यको पत्रअनुसार कारबाही गर्न निर्देशन दिएको छ । राजधानी दैनिक