३ भाद्र २०८३, बुधबार
,
Latest
‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, १ हजार २ सय सवारी जीपीएसमा जोडिए ओभरलोड र पानी चुहाउने ट्रकका कारण कलंकी–नागढुङ्गा सडक जोखिममा सरकारी कार्यालयमा अनुशासन कडाइ, ११ हजार कर्मचारी कारबाहीको दायरामा राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ? भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा ‘इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन’: नेकपा सांसद विष्ट गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा रेडक्रसलाई तदर्थवादबाट मुक्त गरी अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन सांसद शाहीको माग राष्ट्रिय सभाको शुन्य समयः सुदूरपश्चिमको विकासदेखि सार्वजनिक बिदा कटौतीसम्मका विषयमा सांसदहरूको ध्यानाकर्षण रास्वपाको आन्तरिक बैठकका कारण प्रतिनिधिसभा बैठकमा ढिलाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैझारो सिली प्रदर्शन गर्दै साकेला उभौलीलाई बिदा गरियो



अ+ अ-

खोटाङ । शनिबार दिनभरको टन्टलापुर घाम । ढोल, झ्याम्टाको तालसँगै साकेला गीतले गुञ्जयमान वातावरण । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको माटीकोरे खेलमैदानमा भरिभराउ मानिसको भीड । सधैँ फुटबल खेल प्रतियोगिताका दर्शकले भरिभराउ हुने माटीकोरे खेलमैदान साकेला गीत र ढोल–झ्याम्टाको तालसँगै साकेला सिली प्रदर्शनले गुञ्जयमान बनेको हो ।

जिल्लाका विभिन्न स्थानीय तहबाट आएका दर्जनौँ साकेला सिली प्रदर्शन टोली सहभागी कार्यक्रममा बालबालिकादेखि बुढापाकासम्म साकेला सिली प्रदर्शनीमा रमाइरहेका थिए । करिब ३० डिग्री सेल्सियसको टन्टलापुर घामको प्रवाह नगरी ढोल र झ्याम्टको तालसँगै साकेला गीत गाउँदै नाच्न कस्सिएकाहरूको मुहारमा बेग्लै हर्ष देखिन्थ्यो ।

किरात राई यायोक्खा र किरात सेवा समाज खोटाङले शनिबार संयुक्त रूपमा आयोजना गरेको साकेला सिली प्रदर्शनीमा गैरकिरातले समेत लहर मिलाएर सिली नाचेका थिए । माझ किरात भनेर चिनिने खोटाङमा शनिबारबाट यो वर्षका लागि साकेला उभौली चाड औपचारिक रूपमा मैझारो (समापन) गरिएको छ । किराती समुदायले वैशाखे पूर्णिमामा उभौली र मङ्सिरे पूर्णिमामा उधौली गरी वर्षमा दुईपटक साकेला सिली प्रदर्शन गर्दै चाड मनाउँदै आएका छन् । यो बेला जलचर तथा थलचर जीवजन्तु उँभो लाग्ने भएकाले उभौली भन्ने गरिएको हो ।

उभौलीमा खेतीपाती राम्रो होस्, प्राकृतिक प्रकोप आइनपरोस्, सुब्बेफाब्बे होस्जस्ता कामना गर्दै प्रकृतिको पूजा गर्ने चलन छ । तीन चुल्हा तथा भूमेथानहरूमा पूजाआजा गरेपछि सामूहिक रूपमा गोलो घेरामा छोरीचेली, बाउमाइती, युवायुवती एक ठाउँ सहभागी भएर साकेला गीत गाउँदै साकेला सिली नाच्ने गरिन्छ । उधौलीमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन रहेको छ । यो बेला जलचर तथा थलचर जीवजन्तु उधौली लाग्ने भएकाले मङ्सिरे पूर्णिमाको दिनदेखि उधौली मनाउने गरिएको हो ।

साकेला उभौली–उधौली चाडलाई आफन्तसँगको भेटघाट गर्ने महत्त्वपूर्ण अवसरका रूपमा पनि मान्ने गरिएको किरात सेवा समाजका अध्यक्ष ध्यानबहादुर राईले बताउनुभयो । उभौलीको अवसरमा मझुवागढी, तुवाचुङ–जायजुम, छोङ्खा, जन्तेढुङ्गालगायत किरात ऐतिहासिक थलो तथा विभिन्न भूमेथानमा एक महिनासम्म प्रकृतिको पूजा गरी साकेला सिली प्रदर्शन गर्ने चलन छ ।

साकेला उभौली–उधौली चाडमा सबै जातजाति तथा धर्मका समुदायले साकेला सिली नाच्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध संस्कृति बनेको किरात राई यायोक्खाका अध्यक्ष युगशन किरातले बताउनुभएको छ ।

“साकेला किरात समुदायको प्रमुख चाड हो । यो चाड सबै जातजातिको सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने साझा सांस्कृतिक चाड बनेको छ”, उहाँले भन्नुभयो, “साकेला चाडले पराइघर गएका छोरीचेली र बाउमाइती भेटेर दु:खसुखको कुराकानी गर्ने वातावरणसमेत सृजना गर्छ । त्यसैले साकेला उभौली–उधौली चाडलाई किरात समुदायले निकै महत्वका साथ मनाउने गरेका छन् ।”

किरात ऐतिहासिकस्थल मझुवागढीबाट गत वैशाख २९ गते औपचारिक रूपमा सुरु गरिएको साकेला उभौली महिना दिनपछि शनिबार दिक्तेलको माटीकोरे खेलमैदानमा सिली प्रदर्शनी तथा शुभकामना आदानप्रदान गर्दै समापन गरिएको छ । समापनका अवसरमा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्लास्थित जनप्रतिनिधि, कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुख, जातीय सङ्घसंस्थाका प्रतिनिधि सहभागी भएर समूहिक रूपमा साकेला सिली नाचेका थिए ।

छितको गुन्यु मखमलको चोली, पहेँलो पटुकी, दौरासुरुवाल, ढाका टोपी किराती मौलिक वेशभूषामा ठाँटिएर हर्षोल्लासका साथ मनाइने यो चाडमा किरात समुदायमात्र नभई गैरकिरात समुदायका युवायुवतीसमेत सहभागी भएर साकेला सिली नाच्ने गरेका छन् । चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल, झ्याम्टाको तालमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टि जगत्को रक्षा गरून् भन्ने कामनासहितको साकेला उभौली तथा उधौली चाड मनाउने गरिएको छ । साकेला उभौली तथा उधौली चाड किरात समुदायले साकेला नाच नाच्दै धुमधामकासाथ मनाउने गरेका छन् । यो साकेला उभौली–उधौली चाडलाई किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाडका रूपमा मान्ने गरेका छन् । रासस