२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाउँगाउँमा सडक कालोपत्र भएपछि स्थानीय खुसी



अ+ अ-

तुलसीपुर, (दाङ) । तुलसीपुर उपमहानगरपालिका–१२ को लामीडाँडामा कुनै बेला वर्षात्मा हिलाम्मे र अन्य समयमा धुलाम्मे सडकका कारण आवतजावत गर्न निकै कठिन थियो । तर, अहिले सडक कालोपत्र भएपछि आवतजावतमा निकै सहज भएको छ । “पहिले हिलैहिलो हुन्थ्यो, साइकल लैजान पनि समस्या हुन्थ्यो”, स्थानीय नन्दकुमार पुनले भन्नुभयो, “अहिले त साइकलमा नै बजार पुग्न सजिलो छ, छिट्टै बजार पुगिन्छ ।”

कालोपत्र नहुँदा गाडीले धुलो उडाउने र त्यो धुलो घरभित्रै पस्थ्यो । सुकाएका कपडामा पनि धुलैधुलो हुने अवस्था थियो । अहिले त्यो अवस्था हटेको स्थानीय देवी थापाले बताउनुभयो । “सुकाएका कपडामा पनि धुलैधुलो हुन्थ्यो, घरै फोहर हुन्थ्यो, अब त सजिलो भयो”, उहाँले भन्नुभयो । सोही ठाउँको आठ सय मिटर सडक कालोपत्र भएको हो ।

त्यसैगरी, तुलसीपुर–१२ कै हरिपौरीमा झनै कम्मरसम्म हिलो हुने समस्या थियो । त्यतिमात्र होइन, वर्षात्मा घरहरू नै डुबानमा पर्ने अवस्था हुन्थ्यो । तर, अहिले नालीसहित सडक कालोपत्र भएपछि सहज भएको स्थानीय डिला केसीले बताउनुभयो । “वर्षात्मा घरहरू पनि डुब्ने अवस्था हुन्थ्यो, कम्मरसम्म हिलो हुन्थ्यो”, उहाँले भन्नुभयो, “तर अहिले नालीसहित सडक कालोपत्र भएपछि सहज भएको छ ।” जहाँ साढे तीन सय मिटर सडक कालोपत्र भएको हो ।

यी दुवै सडकका लागि रु ८६ लाख बजेट विनियोजन भएको थियो । चालु आर्थिक वर्षको नगरस्तरीय बजेटबाट उक्त काम पूरा गरेको वडाध्यक्ष खुसीराम चौधरीले बताउनुभयो । उहाँका अनुसार वडाले आवश्यकताका आधारमा नगरस्तरीय बजेटलाई व्यवस्थापन गरेको भन्दै उहाँले यो ठाउँमा कालोपत्र गरिएको बताउनुभयो । “सबै क्षेत्रलाई सन्तुलन मिलाउने गरी हामीले अहिले गाउँगाउँका सडक स्तरवृद्धि तथा कालोपत्र गर्ने काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “यसले निकै सहज बनाएको छ ।” यस वर्षमात्र वडामा दर्जन बढी सडक स्तरवृद्धि गरिएको बताउनुभयो । आवश्यकतानुसार नयाँ ट्रयाक खोल्ने, नाली निर्माण गर्ने, कल्भर्ट हाल्ने, ग्राभेल गर्ने कार्यसमेत गरिएको उहाँको भनाइ छ । रासस