३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्नपूर्ण हिमालको आधार शिविरमा गुञ्जियो ‘फ्रान्सेली सङ्गीत’



अ+ अ-

म्याग्दी, (बेनी) । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पहिलो पटक ‘फ्रान्सेली सङ्गीत’ गुञ्जिएको छ । अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर) आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा मङ्गलवार आयोजित ‘अन्नपूर्ण हीरक महोत्सव’को अवसरमा समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको आधार शिविरमा फ्रान्सेली कलाकारहरुको टोलीले साङ्गीतिक प्रस्तुति दिएका हुन् ।

अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगका छोरा माथिएस हर्जोगको नेतृत्वमा रहेको अन्नपूर्ण सङ्गीत समूहले आधार शिविरमा नेपाली सङ्गीतको झल्को दिने साङ्गीतिक प्रस्तुति दिएका हुन् ।

हार्मोनियम, बाँसुरी, गीतारलगायतका नेपाली बाध्यबाधनका साधनको सङ्गीतमा फ्रान्सेली कलाकारहरुले राखेको साङुगीतिक प्रस्तुतिले आधार शिविरमा पुगेका आन्तरिक पर्यटक रमाएको अन्नपूर्ण हीरक महोत्सव आयोजक समितिका सदस्य तेज गुरुङले बताउनुभयो ।

“अन्नपूर्ण आधार शिविरमा पहिलो पटक यसप्रकारको साङ्गीतिक कार्यक्रम आयोजना गरिएको हो, फ्रान्सेली कलाकारहरुको समूहले राखेको यो प्रस्तुतिले आगामी दिनमा हामीलाई आधार शिविरमा साङ्गीतिक प्रस्तुतिका कार्यक्रम आयोजना गर्न प्रेरित गरेको छ”, अन्नपूर्ण पदमार्गका अभियन्ता समेत रहनुभएका गुरुङले भन्नुभयो ।

कलाकारहरुले नेपालीपन झल्कने सङ्गीत प्रस्तुत गर्नुका साथै फ्रान्समा प्रचलित नृत्य समेत प्रस्तुत गरेका थिए । अन्नपूर्ण हिमालको काखमा रहेको मनोरम पञ्चकुण्ड ताल परिसरमा प्रस्तुत सङ्गीतमा नेपाली र विदेशी पर्यटकहरुले रुचिका साथ अवलोकन गरेका थिए  ।

हीरक जयन्तीको अवसरमा आयोजित पदयात्राको नेतृत्व गर्दै आधार शिविर पुग्नुभएका ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले सङ्गीतको माध्ययमबाट पर्यटकीय क्षेत्रको प्रचारप्रसार र प्रवर्द्धनमा सघाउ पुग्ने बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको नेतृत्वमा पर्यटन बोर्ड, पर्वतारोहण सङ्घ, टान, एक्याप र अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समितिको संयुक्त आयोजनामा आयोजित हीरक महोत्सवको अवसरमा आधार शिविरमा मौरिस हर्जोग, लुइस लाचेन र प्रथम नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको अर्धकद सालिक अनावरण गरिएको छ । साथै आधार शिविरदेखि नारच्याङ गाउँसम्मको करिब ३६ किलोमिटर दुरीको म्याराथन प्रतियोगिताका साथै मौलिक नाचलगायतका कार्यक्रम सम्पन्न गरिएको छ । रासस