
काठमाडौँ । इङ्ल्यान्डको १०० बल क्रिकेट प्रतियोगिता द हन्ड्रेडको लिलामीमा सबै पाकिस्तानी खेलाडी अनसोल्ड भएका छन् ।
प्रतियोगिताको ड्राफ्टका लागि ५० पाकिस्तानी खेलाडीले दर्ता गरेका थिए । यी मध्ये एउटा पनि बिक्री भएनन् । ड्राफ्टमा नसिम शाह, साइम अयुब र शादाब खान लगायत ४५ पुरुष क्रिकेटरलाई समावेश गरिएको थियो ।
नसिम र शादाब १२०००० पाउण्ड, मूल्यका साथ शीर्ष श्रेणीमा थिए भने अयुब ७८५०० पाउण्डको क्याटगोरिमा थिए । महिला क्रिकेटरमा आलिया रियाज, फातिमा साना, युसरा आमिर, इरम जावेद र जावेरिया रउफ जस्ता खेलाडीको नाम थियो । जुन कुनै पनि फ्रेन्चाइजीले किनेका छैनन् ।
द हन्ड्रेडका ८ मध्ये ४ टोलीमा आईपीएलका फ्रेन्चाइजीहरूको सेयर
आईपीएलका फ्रेन्चाइजीहरूले द हन्ड्रेड लिगका ८ टिममध्ये ४ वटामा हिस्सेदारी लिएका छन् । अघिल्लो सिजनसम्म, हन्ड्रेड लिग टोलीहरू इङ्गल्याण्ड र वेल्स क्रिकेट बोर्ड (ईसीबी)को स्वामित्वमा थिए । तर आगामी सिजन अघि आइपिएलका फ्रेन्चाइजीहरुले कुल ८ टिम मध्ये ४ वटामा आफ्नो हिस्सेदारी लिएका छन् ।
मुम्बई इन्डियन्सले ओभल इन्भिन्सिबल्स टिमको ४९ प्रतिशत सेयर किनेको थियो । लखनउ सुपर जायन्ट्सले म्यानचेस्टर ओरिजिनल्सको ७० प्रतिशत सेयर किनेको छ ।
यसबाहेक सनराइजर्स हैदराबादको स्वामित्वमा रहेको सन ग्रुपले नर्दन सुपरचार्जर्सको पूर्ण स्वामित्व लिएको छ ।
दिल्ली क्यापिटल्स फ्रान्चाइजीले पनि साउदर्न ब्रेभको ४९ प्रतिशत र भारतीय–अमेरिकी उद्यमी सञ्जय गोभिलले वेल्श फायरमा ५० प्रतिशत सेयर लिएका छन् ।
द हन्ड्रेडमा पाकिस्तानी क्रिकेटरले खरिदकर्ता नभेट्नुको सबैभन्दा ठूलो कारण आईपीएल टिमको हिस्सेदारी रहेको मानिन्छ ।
यसबाहेक च्याम्पियन्स ट्रफीमा पाकिस्तानको निराशाजनक प्रदर्शन पनि यसको कारण हो ।
च्याम्पियन्स ट्रफीका शीर्ष १५ विकेट लिने र शीर्ष १५ ब्याट्सम्यानमध्ये एक पनि पाकिस्तानी खेलाडी छैनन् ।