काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फोर नेसन्स महिला च्याम्पियनसिप फाइनल खेलमा मद्यपान तथा नशालु पदार्थ सेवन गरेर आएमा प्रवेश नपाइने बताएको छ ।
फाइनल खेलअघि पत्रकार सम्मेलनमा एन्फाले शिवरात्रिको दिन मद्यपान तथा नशालु पदार्थ सेवन गरेर आउने सम्भावना रहेको भन्दै त्यसरी आएमा इन्ट्री नहुने जानकारी गराएको हो ।
साथै एन्फाले विशिष्ट व्यक्तिहरूलाई निमन्त्रणा बिना मैदानमा नआउन पनि आग्रह गरेको छ । बिना निमन्त्रणा मैदान आउँदा व्यवस्थापन गर्न गाह्रो हुने भन्दै निमन्त्रणा नभएको विशिष्ट व्यक्ति मैदानमा नआउन आग्रह गरिएको हो ।
च्याम्पियनसिपको उपाधिका लागि बुधबार नेपाल र म्यानमारबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेल दशरथ रंगशालामा साँझ ६ बजेबाट सुरु हुनेछ । फाइनल खेलका लागि साधारणतर्फ एक हजार र भीआईपीतर्फ दुई हजार टिकट दर तोकिएको छ ।
फाइनल खेलमा निर्धारित समय बराबरी भए अतिरिक्त ३० मिनेट थप हुने र त्यसपछि पनि बराबरीमा भएमा खेल पेनाल्टी सुटआउटमा जाने एन्फाले जनाएको छ ।









