२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दसैँसँगै बाँचेका गुणबहादुरहरु News Polar परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता News Polar पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु News Polar कांग्रेस सहमहामन्त्री थारूतर्फ योगेन्द्र अगाडि, महिला केन्द्रीय सदस्यमा जीवनको अग्रता News Polar कांग्रेस महाधिवेशन: मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्यको मतगणना दिउँसो १ बजेदेखि जारी News Polar सिप्रदी ट्रेडिङद्वारा एक्साइड ब्याट्रीमा ‘महा–एक्सचेन्ज धमाका’ अफर सार्वजनिक News Polar भोटेकोशी बाढीः दसैँ आयो तर आमाबुवा आउनुभएन News Polar नेपाल–इन्डोनेसिया सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र राजदूत लिस्ट्योवतीबीच छलफल News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान News Polar इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन : औषधि व्यवस्था विभाग News Polar नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा News Polar हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान News Polar प्रसूति सेवामा आमाको गोपनीयता सुनिश्चित गरिने, पर्दा लगाउनुपर्ने News Polar आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी News Polar घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए News Polar राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

जलवायु परिवर्तनको असर सुन्तला खेतीमा

जलवायु परिवर्तनको असर सुन्तला खेतीमा
अ अ+ अ-

म्याग्दी। तीन दशकअघिसम्म लटरम्म सुन्तला फल्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटका नीलकण्ठ सुवेदीको बगैँचा अहिले रित्तिएको छ ।

“स्वादिलो, रसिलो हुने भएकाले गलेश्वर र बेनीमा मौवाफाँटको सुन्तला खोसाखोस हुन्थ्यो”, सुवेदीले स्मरण गरे, “अहिले मौवाफाँटमा सुन्तला उत्पादन हुनै छाड्यो । बगैँचा पनि नासियो ।” कुनै समय राम्रो चर्चा र धेरै माग हुने मौवाफाँटको सुन्तला हाल एकादेशको कथाजस्तै भएको सुवेदीले बताए। उनीकहाँ मात्र नभएर मौवाफाँटमा अहिले कसैको घरमा पनि बगैँचा छैन । एक जनाको एक सय बोटसम्म सुन्तलाको बगैँचा थियो । बीसभन्दा बढी बगैँचा थिए ।

चिमखोला, दग्नाम, कुइनेमङ्गलेका बासिन्दाले कोदो, मकै, आलु ल्याएर मौवाफाँटबाट सुन्तला साटेर लैजान्थे । आलु र सुन्तलाको वस्तु विनिमय गर्ने चलन थियो । मौवाफाँटका क्षेत्री, बाहुन, ठकुरी र चिमखोला, दग्नामका मगर, कुइनेङ्गलेका छन्त्याल जातीबीच मितेरी साइनो लगाउने चलन पनि थियो ।

केही वर्षयता घरायसी उपभोगका लागि लगाएको सुन्तलाको बोटमा पनि फल लाग्न छाडेको मौवाफाँटका बासिन्दा हरि सुवेदीले बताए । तापक्रम वृद्धिको असर र माटोमा अम्लियपना बढेका कारण मौवाफाँटबाट सुन्तला नासिएको उनले बताए । टुनीको रूखहरू फैलिँदा सुन्तला खेतीमा असर परेको पनि उनको अनुभव छ ।

दाना सानो लाग्ने, पात पहेँलो भएर झर्ने, हाँगा सुक्नेजस्ता समस्या देखिएको सुवेदीले बताए। रघुगङ्गा गाउँपालिकाको केन्द्र रहेको मौवाफाँट समुद्री सतहदेखि एक हजार दुई सयदेखि एक हजार चार सय मिटरको उचाइमा छ । मौवाफाँट त्यसभन्दा माथिल्लो क्षेत्रमा पर्ने फूलबारी, दुलेपानी र बुक्लमा सुन्तलाखेती राम्रो हुन थालेको छ ।

फूलबारी, दुलेपानी र बुक्ल समुन्द्री सतहदेखि एक हजार पाँच सय मिटर हाराहारीको उचाइमा छन् । तापक्रम वृद्धिको असर सुन्तलाखेतीमा देखिएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बास्तोलाले बताए। “सुन्तलाखेतीका लागि समुद्री सतहदेखि नौ सयदेखि एक हजार पाँच सय मिटर उचाइको भूगोल उपयुक्त भए पनि पछिल्लो समय माथिल्लो क्षेत्रमा खेती हुन थालेको छ”, उनले भने “यसअघि सुन्तला फल्ने तल्लो क्षेत्रमा उत्पादन नहुने र माथिल्लो क्षेत्रमा राम्रो उत्पादन हुन थाल्नुलाई तापक्रम वृद्धिको असरका रूपमा लिएका छौँ ।”

हावापानी, मौसम र माटोको परीक्षण गरेर मात्र सुन्तला बगैँचा स्थापना गर्नुपर्ने उनले कृषकलाई सुझाव दिए। पुराना बगैँचामा फल टिपेपछि मल र पानी हाल्न, बोडोपेष्ट लगाउन बास्तोलाले सुझाए। म्याग्दीमा आठ सय १० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भएकोमा चार सय २५ हेक्टरमा फल लाग्ने गरेको कृषि ज्ञान केन्द्रको तथ्यांक छ । राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेडाबारी, अर्मन, रून्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा बढी सुन्तला बगैँचा छन् ।

गत वर्ष तीन हजार छ सय मेट्रिक टन सुन्तला उत्पादन भएको म्याग्दीमा यो वर्ष चार हजार सात सय ८१ मेट्रिक टन उत्पादन भएको छ । म्याग्दीका कृषकले यस वर्ष रू ३३ करोड ४६ लाख मूल्य बराबरको सुन्तला बिक्री गरेका कृषि ज्ञान केन्द्रका प्रमुख बास्तोलाले बताए।

गत वर्ष रू २४ करोड मूल्य बराबरको सुन्तला बिक्री भएको थियो । सरदर प्रतिकिलो रू ७० का दरले सुन्तला बिक्री भएको छ । यस वर्ष प्रतिहेक्टर ११ दशमलव २५ मेट्रिक टनका दरले सुन्तला उत्पादन भएको छ । गत वर्ष प्रतिहेक्टर आठ दशमलव छ मेट्रिक टनका दरले सुन्तला उत्पादन भएको थियो ।

कृषि ज्ञान केन्द्रका प्राविधिकहरूले ‘क्रप कटिङ’ विधिबाट सुन्तलाको उत्पादनको अवस्थाको बारेमा उत्पादनको अवस्था पहिचान गरेका हुन् । नयाँ बगैँचा विस्तार, अनुकूल मौसम र रोगकीराको समस्या नियन्त्रण भएकाले सुन्तलाको उत्पादन गत वर्षको तुलनामा करिब २५ प्रतिशतले बढेको हो ।

जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, मुग्लिनलगायतका बजारमा सुन्तला बिक्री भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र र स्थानीय तहको कृषि शाखाले सुन्तलाका बिरुवा वितरण, प्राविधिक तालिम, बगैँचा व्यवस्थापन, साना सिँचाइ र बजारीकरणमा सहयोग गर्दै आएका छन् ।

यस वर्ष चार सय रोपनीमा सुन्तला बगैँचा सुदृढीकरण कार्यक्रम सञ्चालन र थप ४० रोपनीमा खेती विस्तार गर्ने कार्यक्रम रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । सुन्तला म्याग्दीमा बिक्री हुने प्रमुख कृषि उपज हो ।