४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिममा संसदीय समिति सभापति चयन गर्न आज निर्वाचन हुँदै



अ+ अ-

धनगढी। सुदूरपश्चिम प्रदेश सभाका रिक्त रहेका विषयगत समितिका सभापति चयनका लागि शनिबारदेखि निर्वाचन प्रक्रिया अघि बढ्ने भएको छ ।

दुई पटक सम्म स्थगीत भएको सुदूरपश्चिम प्रदेश सभाको विषयगत समितिको सभापतिको चयनले निकास पाउने भएको छ । प्रदेश सभा सचिवालयले जारी गरेको निर्वाचन कार्यतालिकाअनुसार शनिबार मतदाता नामावली प्रकाशन, दाबी विरोध, मतदाताको अन्तिम नामावली प्रकाशन र सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्तावसहित उम्मेदवारी दिने समय तोकिएको छ ।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले शनिबार बिहान १० बजे मतादाता नामावली प्रकाशन, ११ बजेदेखि साढे ११ बजेसम्म दाबी विरोध, १२ बजे अन्तिम नामावली प्रकाशन, १ देखि ४ बजेसम्म निर्वाचन गरियोस् भन्ने प्रस्ताव दर्ता गर्ने कार्यसूची रहेको जानकारी दिए ।

उनकाअनुसार आइतबार बिहान १० देखि ११ बजेसम्म सभापतिका उम्मेदवारविरुद्ध दाबी विरोधको समय तोकिएको छ भने १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

दिउँसो १ बजे सम्बन्धित समितिको बैठक बसेर सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि कारबाही अघि बढ्नेछ भने त्यसपछि निर्वाचन परिणाम घोषणा गरिने प्रदेश सभा सचिवालयले जनाएको छ । रिक्त रहेका विषयगत समितिका सभापति चयनका लागि सचिवालयले यसअघि दुई पटक निर्वाचन तालिका सार्वजनिक गरेको थियो तर दुवै पटक स्थगित गरिएको थियो ।

अहिले सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास समितिमा सभापति छैनन् भने विशेषाधिकार समिति पनि रिक्त छ ।

सुदूरपश्चिममा ११ पुसमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच विषयगत समितिको सभापतिमा भागबन्डा भएको थियो । भागबन्डा अनुसार सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले एउटा/एउटा समितिको सभापति लिनेछन् ।