२६ चैत्र २०८१, मंगलवार
April 8, 2025 Tuesday

16.27°C

काठमाडौं

16.27°C

Kathmandu

Feels-like: 16.09

Wind: 1.54

Humidity: 82

तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलको पहिलो खेलमा कोलकाता र बैंगलोर भिड्ने



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)को १८ औं सिजन मार्च २२, शनिबारबाट सुरु हुँदैछ ।

उद्घाटन र फाइनल खेल डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्स (केकेआर)को घरेलु मैदान इडेन गार्डेनमा हुनेछ । पहिलो खेलमा केकेआरले रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)सँग प्रतिस्पर्धा गर्नेछ ।

क्रिकबजको रिपोर्ट अनुसार आईपीएलको पूर्ण तालिका १ वा २ दिनमा सार्वजनिक हुनसक्छ । फ्रेन्चाइज टोलीहरूलाई महत्त्वपूर्ण खेलहरूको बारेमा जानकारी गराइएको छ ।

कोलकाताले सन् २०२४ को फाइनलमा सनराइजर्स हैदरावादलाई हराएर उपाधि जितेको थियो । यसपटक हैदरावादमा २ प्लेअफ खेल हुनेछन् ।

१७ औं सिजनको उपविजेता सनराइजर्स हैदरावादले पनि घरेलु मैदान उप्पलबाट आईपीएलको यात्रा सुरु गर्नेछ । उसले मार्च २३ मा राजस्थान रोयल्ससँग खेल्नेछ । गत सिजनको क्वालिफायर–२ मा पनि दुवै टोली भिडेका थिए । उक्त खेलमा हैदरावाद विजयी हुँदै फाइनलमा प्रवेश गरेको थियो ।

आईपीएलमा उद्घाटन र फाइनल खेल डिफेन्डिङ च्याम्पियन टोलीको घरेलु मैदानमा खेलाइन्छ । यसपटक पनि दुवै महत्वपूर्ण खेल कोलकाताको इडेन गार्डेन स्टेडियममा हुनेछन् । फाइनल मे २५ मा हुनेछ । क्वालिफायर–२ कोलकातामा नै हुनेछ । जबकि क्वालिफायर–१ र एलिमिनेटर अघिल्लो उपविजेता एसआरएचको घरेलु मैदान हैदरावादमा खेलाइनेछ ।

यसैबीच, आरसीबीले बिहीबार नै आफ्नो नयाँ कप्तानको बारेमा जानकारी गरायो । १८ औं सिजनमा मध्य प्रदेशका रजत पाटीदारले टोलीको कप्तानी गर्नेछन् । केकेआरले पनि नयाँ कप्तानको साथ प्रतियोगिता खेल्नेछ । अघिल्लो कप्तान श्रेयस अय्यरले यो सिजन पञ्जाब किंग्सबाट खेल्ने भएकाले केकेआरले नयाँ कप्तान छनोट गर्नुपर्नेछ ।

१० टोलीको घरेलु मैदानबाहेक गुवाहाटी र धर्मशालामा पनि खेल हुनेछन् । गुवाहाटी राजस्थान रोयल्स (आरआर)को दोस्रो घरेलु मैदान हो, टोलीले यहाँ २ खेल खेल्नेछ । टोलीले मार्च २६ मा कोलकाता र ३० मार्चमा चेन्नईसँग खेल्नेछ । धर्मशाला पंजाब किंग्सको दोस्रो घरेलु मैदान हो । टोलीले यहाँ ३ खेल खेल्नेछ ।

१० टोलीका बाँकी घरेलु मैदान अहमदाबाद, मुम्बई, चेन्नई, बैंगलोर, लखनऊ, मुल्लानपुर, दिल्ली, जयपुर, कोलकाता र हैदरावाद हुन् । सिजनका बाँकी खेलहरू यहाँ खेलाइनेछन् । प्रतियोगितामा १० टोलीबीच कुल ७४ खेल हुनेछन् ।

आईपीएल भारतको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता हो । यो प्रत्येक वर्ष मार्च देखि मे सम्म टी–२० ढाँचामा खेलिन्छ । यो प्रतियोगिता २००८ मा ८ टोलीबीच सुरु भयो । फाइनलमा चेन्नईलाई हराउँदै राजस्थानले पहिलो सिजनको उपाधि जितेको थियो ।

२०२२ देखि १० टोलीहरूले सहभागिता जनाउन थाले । चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सले सर्वाधिक ५–५ उपाधि जितेका छन् । कोलकाता ३ उपाधि जितेर प्रतियोगिताको तेस्रो सफल टोली हो । दिल्ली, बैंगलोर , पञ्जाब र लखनउले अहिलेसम्म एउटै पनि उपाधि जितेका छैनन् ।