
काठमाडौँ । नेपाली महिला राष्ट्रिय भलिबल टोलीका पहिलो रोजाइकी स्पाइकर सरस्वती चौधरी विदेश पलायन भएकी छन् । सशस्त्र प्रहरी बल (एपीएफ)बाट बिदा भएर उनी आज अष्ट्रेलिया प्रस्थान गरेकी हुन् ।
एपीएफका भलिबल खेलाडीहरुले सरस्वतीको बिदाइमा एक कार्यक्रम आयोजना गरेका थिए । उक्त कार्यक्रममा सरस्वती भावुक बनिन् ।
१७ वर्षको उमेरमा एपीएफमा आवद्ध भएकी उनले टीमलाई थुप्रै सफलताहरु दिलाएकी छन् । सरस्वतीले सन् २०१४ मा राष्ट्रिय टीममा स्थान बनाएकी थिइन् ।
सरस्वतीले उत्कृष्ट प्रदर्शनमै नेपालले बंगलादेशमा भएको सेन्ट्रल जोन भलिबल च्याम्पियनसीपको उपाधि जितेको थियो । नेपालले महिला भलिबलमा जितेको यो पहिलो अन्तर्राष्ट्रिय स्वर्णपदक थियो ।
यद्यपि, उनी अनुकूलता मिलेमा नेपालको प्रतियोगिता खेल्न आउन सक्ने बताइएको छ ।