२६ चैत्र २०८१, मंगलवार
April 8, 2025 Tuesday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 24.14

Wind: 1.54

Humidity: 53

Latest
मन्त्रीपरिषद्बाट वैकल्पिक विकास वृत्तसँग सम्बन्धित विधेयक पारित घरजग्गा कारोबार किन शिथिल ? तीनकुने घटनामा संलग्न थप ६ जना पक्राऊ इजिप्ट, फ्रान्स र जोर्डनद्वारा गाजामा तत्काल युद्धविराम गर्न माग सांकेतिकताको कुटनीति: सन्तुलन कि अलमल ? धुम्मियो काठमाडौं, तीन दिन पानी पर्ने सम्भावना, प्रदूषणबाट मिल्ला त राहत ? काठमाडौंमा आज राप्रपा, शिक्षक र सहकारीपीडितको प्रदर्शन, कुन–कुन स्थानमा हुँदैछ ट्राफिक अबरुद्ध ? आज पनि काठमाडौं विश्वको प्रदूषित सहरको शीर्ष स्थानमा चैते धानखेतीमा किसानलाई आकर्षित गर्न अनुदान ‘पोखरा–छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामीबीच एकता भए बहुमत प्राप्त पार्टी बनाउन सकिन्छः सभापति देउवा



अ+ अ-

गण्डकी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेता तथा कार्यकर्ताबीच एकताबद्ध रुपमा सङ्गठित भएर अब कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउनुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज पोखरामा आयोजित प्रदेश सभापति तथा प्रशिक्षण विभाग प्रमुखका लागि सङ्गठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै पार्टी सभापति देउवाले विद्यमान समावेशी एवं समानुपातिक राजनीतिक प्रणालीका कारण एउटा पार्टीको बहुमत आउन गाह्रो भए पनि एकताबद्ध प्रयास भएमा कांग्रेसले बहुमत ल्याउने बताउनुभयो ।

“अहिले हामीले समावेशी एवं समानुपातिक राजनीतिक प्रणाली अवलम्बन गरेका छौँ, यसबाट कुनै एउटा पार्टीको बहुमत आउन गाह्रो छ”, उहाँले भन्नुभयो, “तैपनि हामीले सबैभन्दा ठूलो पार्टी बनाउन सफल भएका छौँ । अझ पार्टीका सबै साथीहरूबीच हार्दिक एकता भयो भने भोलिका दिनमा कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउन सक्छौँ ।”

उहाँले संवैधानिक व्यवस्थासहित राज्य सञ्चालनमा मुलुकका सबै जातजाति, भाषा, समुदाय र क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरेको धारणा व्यक्त गर्नुभयो ।

सभापति देउवाले बिपी, गणेशमान, कृष्णप्रसाद, गिरिजाप्रसाद लगायतका नेताहरूले सुम्पनुभएको जिम्मेवारीलाई पूरा गर्न पार्टीमा सुमधुर सम्बन्धसहितको एकता र क्रियाशीलता आवश्यक रहेको बताउनुभयो ।

सङ्घर्षको जगमा प्राप्त लोकतन्त्र, सङ्घीयता र समावेशितालाई सुदृढ गर्न जरुरी रहेको उल्लेख गर्दै उहाँले देश विकासका लागि अधिकारको विकेन्द्रीकरण हुनुपर्नेमा जोड दिनुभयो ।

प्राप्त अधिकारको सदुपयोग गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गर्दै पार्टी सभापति देउवाले सदैव देश र जनताका पक्षमा खटिएर काम गर्न नेता तथा कार्यकर्तासँग आग्रह गर्नुभयो । उहाँले पोखरामा सुरु भएको प्रशिक्षण एवं अभिमुखीकरण कार्यक्रमले पार्टीको आगामी कार्यदिशा तय गर्नाका साथै विद्यमान समस्याहरूको समाधानका लागि उचित मार्गनिर्देश गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख एवं पार्टीका उपसभापति पूर्णबहादुर खड्काले पार्टीकोे प्रशिक्षण कार्यक्रम केन्द्र, प्रदेश, जिल्ला एवं निर्र्वाचन क्षेत्रमार्फत सबै ठाउँमा सञ्चालन हुने जानकारी दिनुभयो ।

पार्टीको प्रशिक्षण पुस्तिका निर्माण गर्ने सन्दर्भमा तयार गरिएको ‘ड्राफ्ट’ छलफलका लागि सम्बन्धित निकायहरूमा पठाइसकिएको जानकारी दिँदै प्रशिक्षण प्रतिष्ठानका प्रमुख खड्काले माघ मसान्तभित्रमा सुझावहरू सङ्कलन गरी पुस्तिकालाई अन्तिम रुप दिने बताउनुभयो ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीको ऐतिहासिक मूल्यमान्यता र विरासतलाई बिर्सन नहुने धारणा व्यक्त गर्दै सबैलाई समेटेर पार्टीलाई बलियो र सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो ।

कांग्रेसको एकदिने सो प्रशिक्षण एवं अभिमुखीकरण कार्यक्रममा सातवटै प्रदेशका पार्टी सभापति र प्रदेशका प्रशिक्षण विभाग प्रमुख, पार्टीका केन्द्रीय पदाधिकारी, कास्की जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा प्रदेशका पदाधिकारी सहभागी रहनुभएको छ ।