४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत र इंग्ल्याण्डबीचको खेलमा बनेका रेकर्डहरु, धेरै कीर्तिमान अभिषेकको नाममा



अ+ अ-

एजेन्सी । अभिषेक शर्माको कीर्तिमानी १३५ रनको इनिङमा भारतले पाँचौं टी–२० मा इंग्ल्याण्डलाई १५० रनले पराजित गरेको छ ।

२४८ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डको टोली भारतीय बलरको अगाडि टिक्न सकेन र १०.३ ओभरमा ९७ रनमा अलआउट भयो ।

आइतबार अभिषेक शर्माको नाममा कीर्तिमानी दिन रह्यो । अभिषेक भारतका लागि टी–२० इनिङ्समा सबैभन्दा बढी छक्का प्रहार गर्ने खेलाडी बने ।

उनी भारतका लागि एक इनिङ्समा सर्वाधिक व्यक्तिगत स्कोर बनाउने खेलाडी पनि बने ।

अभिषेक भारतका लागि सबैभन्दा छिटो अर्धशतक र शतक बनाउने दोस्रो ब्याट्सम्यान भए ।

खेलमा बनेका कीर्तिमानहरुः
टी–२० आईमा इंग्ल्याण्डको सबैभन्दा ठूलो हार
इंग्ल्याण्डले रनको हिसाबले सबैभन्दा ठूलो हार बेहोरेको छ । भारतले इंग्ल्याण्डलाई १५० रनले पराजित गर्यो । टी–२० मा भारतको यो दोस्रो ठूलो जित हो । यसअघि टोलीले २०२३ मा अहमदाबादको मैदानमा न्यूजिल्याण्डलाई १६८ रनले पराजित गरेको थियो ।

सञ्जु खेलको पहिलो बलमा छक्का प्रहार गर्ने तेस्रो भारतीय खेलाडी
ओपनर ब्याट्सम्यान सञ्जु सामसन टी–२० आईको पहिलो बलमा छक्का प्रहार गर्ने तेस्रो भारतीय बनेका छन् । उनले जोफ्रा आर्चरको पहिलो बलमा छक्का प्रहार गरे । यसअघि यशस्वी जैसवालले जिम्बाब्वेका सिकन्दर रजा र रोहित शर्माले इंग्ल्याण्डका आदिल रसिदको पहिलो बलमा छक्का प्रहार गरेका थिए ।

अभिषेकको टी–२० आईमा भारतका लागि दोस्रो सबैभन्दा छिटो अर्धशतक
ओपनर अभिषेक शर्माले १७ बलमा अर्धशतक बनाए । योसँगै उनी टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो अर्धशतक बनाउने भारतका दोस्रो ब्याट्सम्यान बने । पहिलो स्थानमा रहेका अभिषेकको रोल मोडल युवराज सिंह हुन्, जसले २००७ को टी–२० विश्वकपमा इङ्ल्यान्डविरुद्ध १२ बलमा अर्धशतक बनाएका थिए ।यस इनिङ्समा उनले स्टुअर्ट ब्रोडको एक ओभरमा ६ छक्का प्रहार गरेका थिए ।

भारतले पावरप्लेमा आफ्नो उच्च स्कोर बनायो
भारतले आइतवार टी–२० अन्तर्राष्ट्रियमा इंग्ल्यान्डविरुद्धको खेलमा आफ्नो उच्च पावरप्ले स्कोर बनायो । टोलीले ६ ओभरमा एक विकेट गुमाएर ९५ रन बनाएको थियो । यसअघि २०२४ मा टोलीले बंगलादेशविरुद्ध ८२र१ रन बनाएको थियो ।

भारतका लागि अभिषेकले दोस्रो छिटो शतक बनाए
मुम्बईको वानखेडे स्टेडियममा अभिषेक शर्माले ३७ बलमा शतक पूरा गरेका थिए । उनी टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो शतक बनाउने भारतका दोस्रो खेलाडी बनेका छन् । उनीभन्दा अगाडि रोहित शर्मा मात्र छन्, जसले सन् २०१७ मा श्रीलंकाविरुद्ध इन्दौरको होल्कर स्टेडियममा ३५ बलमा शतक बनाएका थिए ।

अभिषेकले भारतका लागि पावरप्लेमा सर्वाधिक रन बनाए
अभिषेक शर्मा एकै टी–२० अन्तर्राष्ट्रिय इनिङ्सको पावरप्लेमा सर्वाधिक रन बनाउने भारतीय बने । उनले इंग्ल्याण्डविरुद्ध अर्धशतक प्रहार गर्दा ५८ रन बनाएका थिए । अभिषेकले ५४ बलमा १३ छक्का प्रहार गर्दै १३५ रनको इनिङ खेले । यशस्वी जैसवालले २०२३ मा अस्ट्रेलियाविरुद्धको पावरप्लेमा ५३ रन बनाएका थिए ।

अभिषेकले टी–२० मा भारतको लागि उच्चतम व्यक्तिगत स्कोर बनाए
अभिषेक टी–२० इनिङ्समा भारतका लागि सर्वाधिक रन बनाउने खेलाडी बने । उनले १३५ रनको द्रुत इनिङ खेले । यसअघि शुभमन गिलले २०२३ मा न्युजिल्यान्डविरुद्ध अविजित १२६ रन बनाएका थिए ।

अभिषेकले इनिङ्समा १३ छक्का प्रहार गरे
अभिषेक भारतका लागि टी–२० इनिङ्समा सबैभन्दा बढी छक्का प्रहार गर्ने खेलाडी बनेका छन् । उनले आफ्नो पारीमा १३ छक्का प्रहार गरेका थिए । यसअघि यो कीर्तिमान रोहित शर्माको नाममा थियो । रोहितले सन् २०१७ मा श्रीलंकाविरुद्ध ३५ बलमा शतक प्रहार गर्दै १० छक्का प्रहार गरेका थिए ।

चक्रवर्तीको सिरिजमा १४ विकेट
वरुण चक्रवर्ती कुनै पनि द्विपक्षीय शृङ्खलामा भारतका लागि सर्वाधिक विकेट लिने खेलाडी बने । यसअघि उनले सन् २०२४ मा प्रोटिजविरुद्ध १२ विकेट लिएका थिए । इङ्ल्यान्ड विरुद्धको ५ म्याचको सिरिजमा वरुणले १४ विकेट लिएर आफ्नो कीर्तिमानमा सुधार गरे ।