२० माघ २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर महानगरद्वारा १२ फुटबल क्लवलाई प्रोत्साहन पुरस्कार



अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिकाले आफ्नो नगरभित्र रहेका नेपाली फुटबल लिगको विभिन्न डिभिजन खेल्ने १२ वटा क्लवलाई सम्मान गरेको छ ।

ललितपुरमा आईतवार एक कार्यक्रम आयोजना गर्दै महानगरपालिकाले क्लवलाई नगदसहित सम्मान गर्दै प्रतियोगिता जितेबापत थप पुरस्कारबाट प्रोत्साहन गरेको हो । उनीहरूलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र एन्फाका महासचिव किरण राईलगायतले पुरस्कार रकमको चेक हस्तान्तरण गर्नुभएको थियो ।

ललितपुरले शिर्ष डिभिजनका पाँच क्लव थ्री स्टार, प्रेण्ड्स, जावलाखेल युथ, चर्च ब्वाइज र सातदोबाटो युथ क्लवलाई समान चार लाख रुपैयाँ प्रदान गरेको हो ।

विभिन्न प्रतियोगिता जितेबापत पनि समान चार लाखका दरले चर्च ब्वाइज र ‘बी’ डिभिजन क्लव ब्रिगेड ब्वाइज युनाइटेडले थप पुरस्कार पनि पाए । चर्च ब्वाइजले पाँच नकआउट र ब्रिगेडले दुई प्रतियोगिता जितेको थियो ।

चर्च ब्वाइजले कुल २० लाख र ब्रिगेड ब्वाइजले कुल आठ लाख रुपैयाँ पुरस्कार पाए । बिग्रेडसँगै ‘बी’ डिभिजनका अन्य दुई क्लव च्यासल र खुमलटार एफसीले पनि समान तीन लाख रुपैयाँ पाएका हुन् । ललितपुर महानगरले ‘सी’ क्लवलाई भने समान दुई लाख प्रदान गरेको थियो । ललितपुरमा रहेका ‘सी’ डिभिजन क्लबका खालीबारी, पुलचोक स्पोर्टस, झम्सीखेल युथ र सानेपा क्लवलाई पनि सम्मान गरिएको थियो ।

ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले ‘बी’ डिभिजनबाट शिर्ष डिभिजनमा पुग्ने क्लवलाई २० लाख रुपैयाँ दिन बताउनु भयो । उहाँले लिग नहुने हो भन्दै एन्फालाई प्रश्न गर्दै खेलाडी पलायन हुने उल्लेख गर्नुभयो ।

फुटबल लिग नहुँदा फुटबलको स्तर घट्ने उल्लेख गर्दै मेयर महर्जनले एन्फालाई लिग आयोजना गर्न अनुरोध गर्नुभयो । उहाँले आगामी वर्ष ‘ए’ डिभिजन क्लवमा खेल्ने ललितपुरका एक जना खेलाडीलाई मासिक रूपमा तलवको व्यवस्था गर्ने बताउनु भयो ।

एन्फाका महासचिव किरण राईले संघीय सरकारले मात्र लगानी गरेर खेलकुद र खेलाडीको स्तर विकास सम्भव नहुने उल्लेख गर्दै स्थानीय सरकारको भुमिका पनि महत्वपूर्ण रहने उल्लेख गर्नुभयो ।