२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप उपविजेता खो–खो टोलीले कति पुरस्कार पाउनेछ ?



अ+ अ-

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न खो–खो विश्वकप २०२५ मा उपविजेता बनेको नेपाली पुरुष तथा महिला टोली स्वदेश फर्किएको छ ।

खो खो विश्वकपमा उपविजेता बन्दै इतिहास रचेको नेपाली टोली सोमबार दिउँसो स्वदेश फर्किएको हो ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष ध्रुव आचार्य, सदस्य सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, खो खो संघका अध्यक्ष प्रदिप महर्जन लगायतले स्वागत गरे ।

यसैबीच, इतिहास रचेको नेपाली टोलीले कति पुरस्कार प्राप्त गर्नेछन् भन्ने अहिले चासोको विषय रहेको छ । विश्वकपको पहिलो संस्करणमै फाइनल पुगेका नेपालका दुबै टोली आइतबार उपाधि भिडन्तमा घरेलु भारतसँग पराजित हुँदा विश्व च्याम्पियन हुनबाट बञ्चित भए ।

फाइनलमा पराजय ब्यहोरे पनि नेपाली खेलकुदका लागि यो एउटा ऐतिहासिक उपलब्धि हो । खो खोका दुवै राष्ट्रिय टोली सरकारबाट आकर्षक पुरस्कारले सम्मानित हुनेछन् ।

खेलकुद विकास ऐनका अनुसार विश्व च्याम्पियनसिपमा उपविजेता बनेका दुवै टोलीले ४५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

खेलकुद विकास नियमावली २०७९ को दफा २८ मा अन्तर्राष्ट्रिय महासंघ (आइएफ)का आधिकारिक विश्व च्याम्पियनसिपको सामूहिक प्रतिस्पर्धातर्फ स्वर्ण पदक जिते ५२ लाख तथा रजत पदक जिते ४५ लाख रुपैयाँ प्राप्त गर्ने उल्लेख छ ।

जसअनुसार नेपाली खो खो महिला र पुरुष दुवै टोलीले कम्तिमा ४५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

खेलकुद विकास नियमावलीको व्यवस्था अनुसार यसै वर्ष सम्पन्न पेरिस पारा ओलम्पिक २०२४ मा ऐतिहासिक कास्य पदक विजेता तेक्वान्दो खेलाडी पलेसा गोवर्धनले नेपाल सरकारबाट ६५ लाख रुपैयाँ प्राप्त गरेकी थिइन् ।

खेलकुद संघको हकमा भने स्वर्ण जितेको खण्डमा १९ लाख ५० हजार तथा रजत विजेतालाई १५ लाख ६० हजार पाउने प्रावधान छ ।

यी सबै पुरस्कार राशी मन्त्रिपरिषद्बाट स्विकृत भएपछि मात्र पदक विजेता टोली र सम्बन्धित व्यक्ति वा संघले प्राप्त गर्नेछन् ।

त्यस्तै खेलाडी मात्र नभएर प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक फिजियो र खेल संघले पनि पुरस्कार पाउनेछन् । नेपाल खो खो संघले १५ लाख ६० हजार पाउनेछ ।

त्यस्तै सहायक प्रशिक्षक, फिजिओ वा चिकित्सक र व्यवस्थापकलाई ३ लाख ९० हजार पुरस्कारको व्यवस्था गरिएको छ ।