७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा

पाक्न लागेको कालीमार्सीमा रोग लागेर किसान चिन्तित

पाक्न लागेको कालीमार्सीमा रोग लागेर किसान चिन्तित
अ+ अ-

जुम्ला । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटहरुमा उत्पादन हुने कालीमार्सी धान पाक्न थालेको छ । विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौरको कालीमार्सी धान पाक्न थालेको हो । स्थानीयबासी मायादेवी बुढा भन्नुहुन्छ– यहाँका खेतका फाँटहरुमा कालीमार्सी धानका बाला झुलेसँगै स्थानीयवासीमा पनि खुसीयाली छाएको छ ।  
 
गाउँपालिकाको आर्थिक सहयोग र कालीमार्सी धान संरक्षण तथा प्रवद्र्धन केन्द्रको सहजीकरणमा यस वर्ष यो धान रोपिएको थियो । गाउँपालिका अध्यक्ष लछिमान बोहोराले भन्नुभयो, “गत वर्ष सो स्थानमा दुई हजार वर्गमिटर क्षेत्रफल जग्गामा धान रोपिएकोमा यो वर्ष पाँच हजार वर्गमिटर क्षेत्रफलमा रोपिएको छ ।” उच्च स्थानमा धान फल्ने छुमचौर ज्युलोको संरक्षण गर्नको लागि कालीमार्सी धान रोपिएको अध्यक्ष बोहोराले बताउनुभयो ।

सो स्थानमा फलेको कालीमार्सी धानको चामल देशका विभिन्न शहरमा राम्रो मूल्यमा बिक्री वितरण हुने गरेको छ । देशका विभिन्न भागबाट यो चामलको माग आउने गरेको छ । कालीमार्सी धान संरक्षण तथा प्रवद्र्धन केन्द्रका अध्यक्ष कलिमान महताराले भन्नुभयो “पछिल्ला वर्षहरुमा मानिसमा स्वास्थ्यसम्बन्धी चेतनाका कारण हो या मिठो खाने चाहनाले हो यो धानको माग निकै नै बढ्न थालेको महसुस हामीले गरेका छौँ ।”  

उहाँले भन्नुभयो, “कालीमार्सी धानको संरक्षणको कार्य स्थानीय सरकारले मात्र गर्न नसक्ने भएकाले प्रदेश र सङ्घीय सरकारले धान खेती गर्ने किसानलाई विभिन्न प्रकारका राहतका कार्यक्रम ल्याउनु आवश्यक छ ।” यो धानको बीउ संरक्षण मात्र होइन कि यसको थप व्यावसायिक खेतीका लागि पनि यहाँका किसानलाई अझ उत्प्रेरित गर्नुपर्ने उहाँ बताउनुहुन्छ । 

नेपालको जुम्ला जिल्लाको सीमित मात्रामा उत्पादन हुने स्थानीय जातको धानको नाम हो कालीमार्सी । यसको स्वाद, रोग र किराको प्रतिरोध गर्न सक्ने गुण र पोषक तत्वका कारण जुम्ली मार्सी धानको महत्व अन्तर्राष्ट्रिय जगतसम्म नै पुगेको छ । नेपालमा राणा शासनको समयमा समेत केन्द्रमा रहेका शासकका लागि यही मार्सी धानको चामल हुलाकबाट काठमाडौँसम्म पुर्याउने गरेको यहाँका ज्येष्ठ नागरिकहरु बताउँछन् । 

करीब ७०० वर्षअघि जुम्लीहरुका इष्ट देवता चन्दननाथले भारतको कास्मिरबाट मार्सी धानको बीउ भित्र्याएको विश्वास गरिन्छ । यसको सक्कली बीउ अनुसन्धानका लागि कृषि अनुसन्धान केन्द्रमा राखिए पनि अन्यत्र हराइसकेको छ । मार्सी विश्वको अग्लो स्थानमा फल्ने धानको रूपमा लिइन्छ । यहाँका किसानले लगाएकोे प्रायः सबै खेतको धान यो याममा पाकेर झुल्न थालेको किसान बताउँछन् । उनीहरु गत वर्षभन्दा यसवर्ष धान राम्रो फलेको बताउँछन् । 
 
यतिखेर पाक्न थालेको कालीमार्सी धान कात्तिकको पहिलो हप्तातिर काट्ने तयारी हुन्छ । ज्योतिष हेराएर, शुभ साइतमा धान काट्ने यहाँको स्थानीय चलन छ । यसरी रोपिएको यो धान स्याहार्न भने निकै दुःख हुने गरेको छ यहाँका किसानलाई । खेतमा धानसँग झार निकै बाक्लो आउँछ । कम्तीमा पनि दुई देखि तीनपटक झार गोडेर फाल्नुपर्छ । दसैँको घटस्थापनाका दिन वा यसको भोलिपल्ट प्रतिपदाका दिन स्वाती नक्षत्र पर्छ र यस दिन एक अँगालो नयाँ धान ल्याएर त्यसको चिउरा बनाइन्छ । शुरुमै तयार पारेको त्यो चिउरा चन्दननाथ बाबा र कनकासुन्दरीलाई चढाइन्छ र घरका सबैजनासँगै बसेर बराबर बाँडेर खाने गरिन्छ । त्यो चिउरा एकले अर्कोलाई क्रमशः दिँदै तथा छिमेकीमा समेत बाँडेर खाने खुवाउने परम्परागत रहेकोे संस्कृति सम्बन्धी जानकार रमानन्द आर्यालले बताउनुभयो । 

जिल्लामा दुई हजार ८०० हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाकाले बताउनुभयो । कृषि विज्ञहरुका अनुसार चिसो हावापानीमा उत्पादन हुने खाद्यान्न र फलफूल निकै स्वादिला हुन्छन् । त्यसैले जुम्लालगायत हिमालको तल्लो भेग र उच्च पहाडमा फल्ने मार्सी धानको भात निकै मिठो र स्वादिलो हुन्छ । यसको चामलको भात खाँदा धेरै बेरसम्म भोक लाग्दैन । स्वादिलो, आडिलो र स्वस्थकर हुन्छ । मार्सी धानको चामल खैरो रङ्गको हुन्छ । खैरो देखिने भएकाले कसैकसैले यसलाई रातो चामल पनि भन्छन् । उच्च रक्तचाप, मधुमेहलगायतका बिरामीलाई यो चामलको भातले निकै फाइदा हुने भएकाले शहरमा यसको माग पनि बढी नै हुने गरेको छ । यहाँका किसान बताउँछन् यो चामलको माग शहरबाट बर्सेनि बढेर आएको छ ।  

धानमा रोगको प्रकोप

जुम्ली मार्सी धानबालीमा ब्राउन स्पोट रोगको प्रकोप देखिन थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । यस वर्ष अनुकूल मौसम परेकाले समयमै मार्सी धान रोप्न पाएका कारण यहाँका किसान पनि  हर्षित भएका थिए । तर अहिले भने रोग देखिन थालेपछि किसानहरु चिन्तित बनेका हुन् । कृषि विज्ञसहितको टोलीले जिल्लाको तातोपानी गाउँपालिका ४ र ५ का मार्सीधान रोपेका खेतमा गरिएको अनुगमनबाट ब्राउन स्पोट रोगको प्रकोप पाइएको हो । तातोपानी गाउँपालिकाका कृषि संयोजक धर्मराज आचार्यका अनुसार अनुगमनको क्रममा फाटफुट रुपमा ब्लाष्ट रोग देखिएको छ । मार्सी धानमा ब्राउन स्पोट रोग अलि बढी देखिएको उहाँले बताउनुभयो ।

पर्याप्त सिँचाइ र नाइट्रोजनको अभावले मार्सी धानमा ब्राउन स्पोट रोग लाग्ने गरे पनि यो रोगका कारण मार्सी धानको उत्पादनमा कुनै गिरावट नआउने कृषि संयोजक आचार्यले बताउनुभयो । मार्सी धान भित्र्याउने समयसम्म असिना नपरेको खण्डमा ब्राउन रोगले उत्पादन नघट्ने गाउँपालिकाका कृषि शाखाले जनाएको छ ।

ब्राउन रोगका कारण उत्पादन नघटे पनि साउनमा भएको वर्षाका कारण केही स्थानमा उत्पादन घट्ने चिन्तामा किसान छन् । यहाँ साउनमा भारी मात्रामा वर्षा भएको थियो । यसका कारण यहाँका कतिपय खेतभरि बालुवा भरिएपछि मार्सीखेत बगरमा परिणत भएको छ । धान फल्ने बेला बालुवाले खेत भरिँदा कतिपय किसानको उत्पादन सोचेजस्तो नहुने तातोपानीका–४ का स्थानीयबासी सत्यदेवी पाण्डेले बताउनुभयो ।

जलवायु परिवर्तनका कारण स्थानीय बालीमा लाग्ने रोग किरा व्यवस्थापन तथा उत्पादनमा वृद्धि गर्ने लक्ष्यका साथ गौरसरकारी संस्था लिबर्ड जुम्लाले हरेक वर्ष स्थानीय धानबाली र सिमी बालीको अनुसन्धान गर्दै आएको छ । जुम्लामा विगत एक वर्षदेखि स्थानीय बाली धान र सिमीको संरक्षण गरी विभिन्न ठाउँमा ‘बीउ बैंक’को रूपमा काम गर्दै आए पनि बर्सेनि मार्सी धानमा विभिन्न खाले रोग किरा लाग्ने गरेका छन् । तर वर्षौंपिच्छे हुने अध्ययन अनुसन्धानले मार्सी धानमा लाग्ने रोग किरा नियन्त्रणको दिगो समाधान भने अझै निकाल्न सकेको छैन । गत वर्ष मार्सी संरक्षणका लागि स्वदेशी तथा विदेशी विज्ञको टोलीले मार्सीको अनुगमान तथा अनुसन्धान गरेको लिबर्ड जुम्लाले जनाएको छ । 

मार्सी धानको विशेषता

मार्सी धान समुद्री सतहभन्दा १० हजार फिटको उचाइमा फल्छ । यो धानको खेती नेपालको उच्च हिमाली जिल्ला जुम्लामा मात्र राम्रो हुने गरेको पाइन्छ । यो धानको चामल रातो र भात पकाउँदा हल्का गिलो हुन्छ । यसमा प्रोटिनको मात्रा बढी हुने गरेको बताइन्छ । मार्सी चामलको भात खाँदा चाँडो भोक नलाग्ने र आडियो हुने गरेको धानबाली विशेषज्ञहरु बताउँछन् । 

जुम्लामा मार्सी धानको बीउ चन्दननाथ बाबाले भारतको कास्मिरबाट ल्याएका थिए । उनले ल्याएको सो धान जुम्लाको छुमचौरमा पहिलो पटक लगाइएको थियो । यो धान चैतमा रोपेर कात्तिकको पहिलो हप्तासम्ममा काटिन्छ । स्थानीय मानिसहरुमा मार्सी धान रोप्ने बेला युवाहरु घरमा भएनन् या आएनन् भने उनीहरुको मृत्यु भए सरह मान्ने पम्परागत चलन पनि रही आएको छ । मार्सी धानको खेतीलाई यसरी स्थानीय परम्पराअुनसार महत्व दिने गरिएको छ । तर हिजोआज यो प्रचलन त्यति नरहेको यहाँको नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले बताउनुभयो ।

निकै पोषिलो र अत्यधिक कार्बोहाइड्रेट भएको मानिने काली मार्सी धानलाई स्थानीयहरुले पनि स्वास्थ्यवर्धक खानाका रुपमा नै लिने गर्दछन् । त्यसैले पनि अहिले मार्सी चामलको भात चाख्न खोज्नेहरुको जमात जुम्लामा पनि बढिरहेको छ । 

चामलको माग बढेकाले जुम्लादेखि कालीमार्सी धान लगेर काठमाडौँमा व्यावसाय गर्नेहरु पनि बर्सेनि बढ्दै छन् । लामो समयदेखि कालीमार्सी चामलको व्यापार गर्दै आएका जुम्लाका प्रकाश कार्कीलाई नेपालमा केही समयदेखि जारी कोरोना भाइरसको प्रकोप र यसका कारण जारी बन्दाबन्दीले व्यावसाय नै प्रभावित पारेको बताउनुहुन्छ । 

हाल कालीमार्सीमा विभिन्न रोग लाग्ने तथा जलवायु परिवर्तनको प्रभावले गर्दा पनि धान उत्पादन घट्दै गएकाले जुम्लाका स्थानीयबासी बताउँछन् । त्यसैले पनि उनीहरु हालैका वर्षहरुमा आयातित सेतो चामलको भात खान बाध्य भएको बताउँछन् । हिमा गाउँपालिका–४ का जयबहादुर रोकायाले भन्नुभयो, “हाम्रो बाल्यअवस्थामा यस्तो चामल नै थिएन । तर अहिले गाउँसम्म नै गाडी आएदेखि सेतो चामल भित्रिएको हो ।” सेतो चामलमा स्वाद राम्रो नरहेको उहाँको अनुभव छ । यसै भन्छन् यहाँका अरु स्थानीय पनि । तर पनि यही सेतो चामल खान बाध्य भएको उनीहरुको गुनासो छ । रासस