काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनीले लगातार चौंथो हार ब्यहोरेको छ ।
भर्खरै सम्पन्न खेलमा लुम्बिनी जनकपुर बोल्ट्ससँग १ रनले स्तब्ध बनेको हो । जनकपुरले दिएको १३६ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन बनाउँदै १ रनले चुक्यो ।
लुम्बिनीलाई जितबाट रोक्न जनकपुरका हर्ष ठाकर एक्लैले पाँच विकेट लिए । अन्तिम बलमा २ रन चाहिएको अवस्थामा ठाकरले स्ट्राइकमा रहेका सन्दीप जोरालाई आउट पार्दै खेल नै पल्टाए ।
जोरा ८ बलमा १६ रन जोडेर आउट भए । लुम्बिनीका कप्तान रोहित पौडेलले ३५, अर्जुन साउदले २०, टम मुरेसले ३१ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ जनकपुरका ठाकेरले चार ओभरमा २३ रन खर्चेर पाँच विकेट लिए भने किशोर महतो, ललित राजवंशी र शेर मल्लले एक–एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको जनकपुरले २० ओभरमा ९ विकेट गुमाउँदै १३६ रन जोड्यो ।
उसका लागि कप्तान अनिल शाहले सर्वाधिक ४५ रन जोडे । यस्तै, लाहिरु मिलान्थाले २४, शुभ कंसाकारले अविजित २२ तथा आसिफ शेखले १६ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ लुम्बिनीका अभिषेश गौतमले चार ओभरमा २० रन खर्चेर तीन, रोहित पौडेलले चार ओभरमा २२ रन खर्चेर दुई, साद बिन जफरले ३ ओभरमा ११ रन खर्चेर दुई तथा सन्दीप जोरोले २ ओभरमा १३ रन खर्चेर एक विकेट लिए ।
जारी प्रतियोगितामा जनकपुरको यो चौंथो जित हो भने लुम्बिनीको चौंथो हार हो ।
आजै यसपछि केहीबेरमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।










