काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न कुनै कन्जुस्याइँ नगर्ने बताउनु भएको छ । बुधबार प्रधानमन्त्री कप पुरुष टी–२० क्रिकेट प्रतियोगिता विजयी टिमलाई पुरस्कार वितरण कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न कुनै कन्जुस्याइँ नगर्ने बताउनु भएको हो । उहाँले नेपालको खेलकुद क्षेत्रमा कमजोर पूर्वाधार हुँदा पनि खेलाडीले राम्रो मेहनत गरेको बताउनु भयो ।
मन्त्री शर्माले खेलाडीले मेहनत गरे अनुसार पूर्वाधार र खेलाडीको सेवा सुविधा नभएको स्वीकार गर्नु भयो । उहाँले खेलकुद पूर्वाधारको विकास र खेलाडीको सेवा सुविधा बढाउने विषयमा सरकारको ध्यानाकर्षण भएको पनि बताउनु भयो । उहाँले सरकारले खेलाडीको सेवा सुविधा बढाउने विषयमा पहल गर्ने पनि बताउनु भयो । अर्थमन्त्र िशर्माले भन्नुभयो,‘ नेपालको खेलकुद क्षेत्रमा कमजोर पूर्वाधार रहेको छ । यस्तो पूर्वाधार कमजोर भएको अवस्थामा पनि खेलाडीहरुले जुन मेहनत गरि रहनु भएको छ । त्यो प्रशंसा योग्य छ । यो प्रतियोगितामा सातै प्रदेशको टिम सहभागी हुनु भएको छ ।
जसरी खेलाडीहरुले क्रिकेटमा गर्नु भएको मेहनत अनुसार सरकारले पूर्वाधारको विकास र सेवा सुविधाहरु थप्न सकेको छैन । खेलाडीले पनि मेहनत अनुसार सेवासुविधा पाउनु भएको छैन । त्यस विषयमा सरकारको ध्यानाकर्षण भएको छ । सरकारले पूर्वाधार विकास र खेलाडीको सेवा सुविधा दिन कुरामा सक्दो प्रयास गर्ने छ । यस विषयमा अर्थमन्त्रालयको पूर्ण सहयोग रहने छ । विश्व कपको छनोटको लागि जाँदै हुनुहुन्छ । पछिल्लो समय नेपालमा क्रिकेटको आकर्षण बढेको छ । राष्ट्रिय तथा अन्त्र्राष्ट्रिय रुपमा नेपाली खेलाडीले उत्कृष्टता प्रस्तुत गर्नु भएको छ । अर्थमन्त्रालयको तर्फबाट क्रिकेट संघलाई क्रिकेट खेल्ने स्थानमा लाइटको अभाव भएकाले काम अगाडि बढाउनु भनेको छु । खेलाडीले गर्ने जिममा समेत समस्या रहेको पाएको छु । त्यो विषयमा खेलकुद सचिवले हेर्नु अनुरोध गर्दछु । खेलकुदमा सरकारले कुनै कन्जुस्याइँ नगरी लगानी गर्नु पर्छ । खेलकुदसँग सम्बन्धित मन्त्रालयले पूर्वाधार निर्माण लगायतका काम अगाडि बढाउँदा अर्थमन्त्रालयको सहयोग हुन्छ । नयाँ प्रशिक्षक आउनु भएको छ । उहाँ कै पालामा विश्वकपमा सहभागी भएको थियो फेरी पनि सहभागी भएर नेपालले सफता पाउने विस्वास लिएको छु ।’
अर्थमन्त्री शर्माले पछिल्लो समय नेपालमा क्रिकेटमा आकर्षण बढ्दै गएको बताउनु भयो । उहाँले क्रिकेटमा आकर्षण बढे अनुसार नेपाली खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा उत्कृष्टता प्रस्तुत गर्न सफल भएको बताउनु भयो ।











