• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo

प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजिनु प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात – पत्रकार महासंघ



काठमाडौँ । नेपाल पत्रकार महासंघले सत्तारुढ नेकपा (एमाले) निकट प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलाई प्रहरीले पक्राउ गर्न प्रयास गरेको भन्दै विरोध जनाएको छ ।

महासंघका महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तीमा प्रेस काउन्सिलको अधिकार क्षेत्रलाई हस्तक्षेप गर्दै प्रहरीले पक्राउ गर्न खोज्नुले प्रेस स्वतन्त्रततामाथि गम्भीर आघात पुगेको जनाइएको छ ।

‘महासंघ प्रहरीको यो हस्तक्षेपको कडा शब्दमा निन्दा गर्दछ र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँछ,’ विज्ञप्तिमा भनिएको छ ।

साइबर ब्युरोबाट खटिएको प्रहरी टोली बस्नेतलाई पक्राउ गर्न हार्दिक होटलमा पुगेको थियो । बस्नेत सो होटलमा एउटा कार्यक्रममा सहभागी हुँदै गर्दा प्रहरी पुगेको थियो ।

बस्नेतको अनलाइनमा साउन महिनामा प्रकाशित एक समाचार र तस्विरलाई लिएर उनीमाथि साइबर ब्युरोमा उजुरी परेको थियो । त्यसकै अनुसन्धानका लागि उनलाई पक्राउ गर्न खोजिएको बुझिएको छ ।

प्रेस चौतारीका उपाध्यक्ष गणेश पाण्डेले अनलाइनमा समाचार लेखेकै कारण बस्नेतलाई पक्राउ गर्न खोजिएको भन्दै अपराधी जसरी पक्राउ गर्ने प्रहरीको प्रयास निन्दनीय रहेको प्रतिक्रिया दिएका छन् ।

‘समाचार लेखेकै कारण हाम्रो संगठनका केन्द्रीय अध्यक्ष गणेश बस्नेतलाई बागबजारमा अपराधी जसरी पक्राउ गर्ने प्रहरीको प्रयास निन्दनीय छ प्रहरीको टोली आएर जोरजबरजस्ती गर्न खोज्दा हामीले प्रतिकार गर्‍यौँ ।’ उनले भने ।